CLI
Global College

साउनमा घरजग्गा कारोबारबाट राजस्व १७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा घरजग्गा कारोबार र कित्ताकाट दुवै बढेसँगै यस क्षेत्रबाट संकलन हुने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढेको छ। कारोबारबाट संकलन हुने राजस्व भने १६.९२ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

विभागका अनुसार गत वर्षको साउनमा १ लाख ४ हजार २१८ पटक घरजग्गा कारोबार भएकोमा चालु आर्थिक वर्षको साउनमा यो संख्या बढेर १ लाख १४ हजार ८ पटक पुगेको छ। त्यस्तै, लिखत पारितको संख्या पनि गत वर्षको साउनमा ३१ हजार ६२१ रहेकोमा चालु आवको साउनमा बढेर ३३ हजार ९७८ पुगेको छ।

यस अवधिमा घरजग्गाको कित्ताकाटसमेत उल्लेख्य रूपमा बढेको छ। गत वर्षको साउनमा २० हजार ९०१ कित्ता जग्गालाई टुक्र्याएर ४२ हजार ५६३ कित्ता बनाइएको थियो। चालु आवको साउनमा भने ३० हजार ६८ कित्ता जग्गालाई टुक्र्याएर ६१ हजार १०२ कित्ता बनाइएको विभागको तथ्यांक छ।

पूँजीगत लाभकर बढ्दा राजस्वमा प्रभाव

घरजग्गा कारोबारको तुलनामा राजस्व वृद्धि उच्च हुनुमा सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको पूँजीगत लाभकर वृद्धिको समेत प्रभाव परेको जानकारहरू बताउँछन्।

यसअघि पाँच वर्षभन्दा कम अवधिसम्म जग्गा होल्ड गरी बिक्री गर्दा प्राप्त लाभमा ७.५ प्रतिशत र पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था थियो।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म होल्ड गरिएको घरजग्गाको बिक्रीमा लाग्ने पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत तथा पाँच वर्षभन्दा कम अवधिमा बिक्री गर्दा लाग्ने कर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याएको छ।

करको दरमा भएको वृद्धिका कारण कारोबारको संख्याभन्दा राजस्व वृद्धि उच्च देखिएको जानकारहरूको भनाइ छ।

Leave Your Comment

Related News