CLI
Global College

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेका छन् ।

जन्मतर्फ ५५८ र मृत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए ।

त्यस्तै मोटा चामल लिनेमा जन्मतर्फ ५०९, मृत्युतर्फ ४९ जना रहेका छन् । कार्यालयका अनुसार जिरो मसिनो चामल लिनेमा जन्मतर्फ ३११ र मृत्युतर्फ ३५ जना रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीको भनाइ छ ।

जन्म र मृत्यु हुँदा गत आवमा रु १९ लाख ७२ हजार बराबरको २७१ क्विन्टल चामल वितरण भएको छ । चामल उपलब्ध गराउँदा ज्यालामा भने चार लाख २८ हजार ५०० खर्च भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीले बताए ।

उक्त अनुदानको चामल लिनेलाई यातायात खर्च दिने गरेको छ । जसमध्ये जन्मतर्फ २२० जनालाई एक हजार, ३८० जनालाई ५०० र मृत्युतर्फ १९ जनालाई एक हजार र ३५ जनालाई ५०० यातायात खर्च प्रदान गरिएको छ ।

यसैगरी हिमा, सिंजा, तिला र कनकासुन्दरी गाउँपालिका स्थानीयले चामलसहित एक हजार यातायात खर्च पाउने गरेका छन् । तातोपानी, गुठीचौर, पातारासी र चन्दनाथ नगरपालिका स्थानीयलाई ५०० यातायात खर्च दिने व्यवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले जनाएको छ ।

सो सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ ।

विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क ३० किलो चामल दिने घोषणा गरेको थियो । हाल खाद्य कम्पनीमा एक हजार ९०० क्विन्टल खाद्यान्नको चामल मौज्दात रहेको जनाएको छ ।

Leave Your Comment

Related News