CLI
Global College

हर्मुजमा जहाजमाथि आक्रमण, एक जनाको मृत्यु

काठमाडौं ।  इरान र अमेरिकाबिच रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन्।

केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ः०० बजे जहाजमाथि आक्रमण भएको थियो।

“एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भयो र अन्य तीन जना घाइते भए”, तेमुरीले सरकारी टेलिभिजनमार्फत बताए। आक्रमण कसले वा कुन पक्षले गरेको भन्नेबारे भने उहाँले स्पष्ट जानकारी दिनुभएन ।स्ट्रेट अफ होर्मुजको सबैभन्दा ठूलो टापु केश्म वरपर रातभरि धेरै विस्फोट भएको खबरसमेत प्राप्त भएको थियो।

विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज हाल अवरुद्ध अवस्थामा रहेको छ। यसै विषयमा छलफल गर्न इरान र खाडी मुलुकहरूबीच ओमानमा बैठक बस्नुभन्दा एक दिनअघि उक्त घातक घटना भएको हो।

इरान र अमेरिकाबीच करिब छ महिनादेखि जारी द्वन्द्वमा स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रण प्रमुख विवादको विषय बनेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीपछि जवाफमा इरानले जलसन्धि अवरुद्ध गरेको बताइएको छ । त्यसअघि यो जलमार्गबाट जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्दै आएका थिए।

इरानले सुरक्षा र सार्वभौमिकताको कारण देखाउँदै होर्मुजबाट आवतजावत गर्ने जहाजले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ। साथै, जहाजबाट सेवा शुल्क लिने संयन्त्रबारे पनि विचार गरिरहेको बताइएको छ।

इरानी नियम पालना नगर्ने जहाजहरूलाई आक्रमणको जोखिम हुने गरेको छ भने अमेरिकाले पनि होर्मुजमाथि तेहरानको नियन्त्रणलाई चुनौती दिने उद्देश्यले इरानी तटीय क्षेत्रमा छिटपुट हवाई आक्रमण गर्दै आएको छ।

Leave Your Comment

Related News