काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएका तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन प्रयोग गर्ने तयारी गरिरहेको बताए।
उनले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर काम भएकोमा खुसी व्यक्त गरे।
“यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ,” प्रधानमन्त्री शाहले भने।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने गरी सरकारले निरन्तर काम गरिरहेको बताए। सडक सञ्चालनमा आएपछि प्रभावित नागरिकलाई पूर्ववत् अवस्थामा फर्किन सहज हुने उनको विश्वास छ।
उनले सुरुदेखि नै नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय उठाउँदै आएको स्मरण गर्दै अब रसुवामा बाढी प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए।
प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी सरकारले सुरु गरेको जानकारी दिँदै उनले बस्ती स्थानान्तरण गर्दा स्थानीयको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति तथा जीविकोपार्जनलाई समेत ध्यान दिनुपर्ने बताए।
“बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ। खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,” उनले भने।
नयाँ बस्तीका लागि उपयुक्त जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे।
आजको छलफलबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहले बताए।



