RE
Global College

राजस्व सङ्कलन १५.४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ७ गतेसम्ममा सरकारले  २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १५.४ प्रतिशतले बढी हो। गत वर्षको असोज ७ गतेसम्म  १ खर्ब ७५ अर्ब ६३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

अघिल्लो वर्षको तुलनामा सुधार देखिए तापनि सरकारले निर्धारण गरेको निर्धारित लक्ष्यको तुलनामा भने राजस्व असुली पछाडि नै परेको छ। चालु आवको असोज महिनासम्मका लागि  ३ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा असोज ७ गतेसम्म ६१.३९ प्रतिशत मात्र हासिल भएको छ।

अर्थ मन्त्रालयका अनुसार असोज महिनाको सुरुवाती सात दिनमा मात्रै १८ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जसमध्ये असोज ७ गते एकै दिन  ४ अर्ब ३४ करोड रुपैयाँ असुली भएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि कुल  १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ। शुरुआती महिनाहरूमा राजस्व सङ्कलनमा क्रमिक सुधार आए पनि वार्षिक लक्ष्य भेट्टाउन आगामी महिनाहरूमा सङ्कलनको गति अझ बढाउनुपर्ने देखिन्छ।

Leave Your Comment

Related News