काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्न निर्देशन दिएको छ।
त्यस्तै, तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय गरेको छ।
नागरिकले सरल, सहज र प्रभावकारी ढंगले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।



