Global College

ट्रम्पको दाबी : इरानसँगको युद्ध ‘लगभग समाप्त’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमण पुनः शुरू गर्ने आवश्यकता नरहेको बताएका छन्। तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे सैन्य कारबाहीका लागि तयार रहेको उनले स्पष्ट पारेका हुन्।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग हिजो ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गरेकाे समाचार संस्था एपीले जनाएको छ । युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उनले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेका उल्लेख गरे ।

आठ महिनादेखि चलिरहेको युद्ध, इन्धनको मूल्यवृद्धि र विश्व अर्थतन्त्रमा परेको प्रभावप्रति अमेरिकी मतदाताको असन्तुष्टि बढिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । मध्यावधि चुनावमा उनको रिपब्लिकन पार्टीले कंग्रेसको दुवै सदनमा डेमोक्रेटिक पार्टीसँग पराजय व्यहोरेको थियो ।

ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक सङ्केत प्राप्त भएको दाबी गर्दै युद्ध अन्त्य हुने सम्भावना राम्रो रहेको बताए । इरानी तेलको आपूर्ति रोक्न लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने निरन्तर रहने उनले स्पष्ट पारे । यसैबीच कतारका अधिकारीहरूले गएको हप्ता इरानको आणविक कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको यस विषयमा जानकार दुई मध्यपूर्वी सरकारी अधिकारीले बताएका छन् । इरानले भने वार्ताअघि बन्दरगाहमाथिको नाकाबन्दी र आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, युद्धको क्षतिपूर्ति दिनुपर्ने तथा क्षेत्रीय शत्रुता अन्त्य गर्नुपर्ने शर्त राख्दै आएको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले युद्धसम्बन्धी आउँदो निर्णय राष्ट्रपतिमा निर्भर रहेको बताए । युद्ध शुरू गर्न कंग्रेसको अनुमति नलिएको भन्दै उहाँमाथि आलोचना भइरहेको छ । केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले हिजो उहाँविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन मतदानको माग गरेका हुन् ।

युद्ध अन्त्यको सङ्केत गरे पनि अमेरिकाले इरानमा सीमित आक्रमणलाई निरन्तरता दिएको छ । गएको हप्ता इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी कम्तीमा दुई पटक आक्रमण भएको थियो । अमेरिकी नौसैनिक नाकाबन्दी तोड्न खोजेको आरोपमा शनिवार एउटा व्यापारिक जहाजमाथि गोली प्रहार गरी निष्क्रिय पारिएको अमेरिकी सेनाले जनाएको छ ।

NECO

Leave Your Comment

Related News