Global College

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन । कम्पनीको केन्द्रीय कार्यालयले गत वर्षको तुलनामा आधा मात्र धान खरिद गर्ने कोटा निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज परिसरसमेत सुनसान बनेको छ ।यस वर्षका लागि २० हजार क्विन्टल धान खरिदको कोटा माग गरी पठाइएकामा माग गरेभन्दा आधा अर्थात् १० हजार क्विन्टल मात्रै कोटा निर्धारण भएर आएकाले हालसम्म धान खरिद प्रक्रिया सुरु गर्न नसकिएको कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

उनका अनुसार, अहिले तोकिएको कोटाले बाँकेका किसानसँग धान खरिद व्यवस्थापन गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल धान खरिदका लागि माग गरेर पुनः कम्पनीको केन्द्रीय कार्यालयमा पत्राचार गरिएको छ । कोटा बढेर आएमा खरिद प्रक्रिया सुरु गरिने उनले बताए ।

“कोटा बढाउन केन्द्रीय कार्यालयमा पत्राचार गरिए पनि हालसम्म कुनै जानकारी आएको छैन”, कार्यालय प्रमुख लामिछानेले भने, “कोटा थप हुने सम्भावना टर्दै गएको छ, धान बिक्री गर्ने किसान धेरै भएकाले १० हजार क्विन्टल खरिद प्रक्रिया सुरु गर्न नसकिएको हो ।”गत वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएकामा नेपालगञ्जस्थित मुख्य कार्याललयले कोटाअनुसार नै धान खरिद गरेको थियो । पछिल्ला केही वर्ष लगातार धान खरिदको कोटा घटिरहेको छ । गत आर्थिक वर्ष २०८२र८३ मा पनि अघिल्लो आर्थिक वर्षको भन्दा आधामात्रै कोटा तोकिएको थियो ।

गत वर्ष १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा तोकिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा ४० हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो ।

धान खरिद प्रक्रियामा हुने ढिलाइ र कोटाको कमीका कारण किसानले सरकारी समर्थन मूल्यभन्दा कममा व्यापारीलाई धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु एक हजारदेखि रु पाँच सयसम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुईयागाउँका किसान ध्रुव थापाले बताउनुभयो ।

“यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उनले भने, “चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नु परेको छ ।”खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महङ्गो दरमा धान खरिद गर्ने भए पनि ढिला गरी खरिद गर्ने र खरिद प्रक्रिया झन्झटिलो रहेका कारण किसानले रु पाँच सयदेखि रु एक हजार प्रतिक्विन्टल कम मूल्यमा व्यापारीलाई सस्तो दरमा धान बेच्ने गरेको थापाले बताए ।

लामो समयदेखि खाद्यलाई धान बिक्री गर्दै आएका किसान यस वर्ष धान खरिदको प्रक्रिया सुरु नहुँदा अन्यौलमा रहेका राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले बताए । खेतबाट धान स्याहारीसकेका किसान बिक्रीका लागि प्रतीक्षामा रहेको उनले जानकारी दिए ।“घरभरी धानले भरिएको छ, थन्क्याउने ठाउँ छैन, खाद्यले अहिलेसम्म खरिद प्रक्रिया सुरु गरेको छैन”, थारुले भने, “व्यापारीलाई नदिएर खाद्यलाई दिन पर्खिएका किसान अहिले अप्ठयारोमा पर्दै गएका छन् ।”

NECO

Leave Your Comment

Related News