काठमाडौं ।कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको भौगोलिक अवस्था बुझ्न संयुक्त राष्ट्रसङ्घीय आयोगलाई दुवै देशका तट तथा सम्बन्धित टापुहरूको स्थलगत भ्रमण गर्न अनुमति दिने सहमति गरेका छन् ।
समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि ९युएनसीएलओएस० अन्तर्गतको मेलमिलाप आयोगसँग मलेसियाको क्वालालम्पुरमा भएको चारदिने तेस्रो बैठकपछि दुवै देशले यस्तो सहमति गरेका हुन् ।बैठकका क्रममा समुद्री सीमा निर्धारणसँग सम्बन्धित प्राविधिक विषयमा काम गर्न दुवै देशका विज्ञ र आयोगका सदस्यहरू सम्मिलित संयुक्त प्राविधिक कार्यदल गठन गरिएको थियो ।
बैठकपछि जारी विज्ञप्तिमा सम्बन्धित टापु र दुवै देशका तटहरूको भ्रमणले विवादित क्षेत्रको भौगोलिक अवस्था तथा त्यससँग जोडिएका विशिष्ट परिस्थितिबारे आयोगलाई थप जानकारी प्राप्त हुने उल्लेख गरिएको छ ।कम्बोडियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री प्राक सोखोन्नेले क्वालालम्पुर बैठकमा भएको प्रगतिलाई दुवै देशका लागि सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन् । उनले कम्बोडिया र थाइल्यान्ड सधैँ छिमेकी रहने भएकाले आपसी सहकार्य र समझदारी महत्त्वपूर्ण रहेको बताएका छन् ।
त्यसैगरी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाक फुआंगकेटकोले समुद्री सीमा विवाद समाधानका लागि थाइल्यान्डले मेलमिलाप प्रक्रियामा रचनात्मक सहभागिता जनाइरहने बताएका छन् । उनले दुई देशबीचको समुद्री सीमा निर्धारणमा निरन्तर प्रगति हुने आशा व्यक्त गरेका छन् ।



