Global College

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्ने : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताएका छन् । उनले सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्नुपर्ने बताएका हुन् ।

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन चालु आर्थिक वर्षमा सरकारले १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । आगामी वर्षहरूमा पनि सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न बजेट विनियोजनलाई निरन्तरता दिइने उनको भनाइ छ ।

वाग्लेले आगामी बजेटमार्फत सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन सुधारका रूपमा स्थापित गर्ने र भविष्यमा यसलाई उल्टाउन नसकिने संरचना निर्माण गर्ने लक्ष्य रहेको बताए ।

उनका अनुसार सामाजिक सुरक्षा प्रणालीका दुई प्रमुख आधार सामाजिक बीमा र सामाजिक पुनर्वितरण हुन् । योगदान गर्न सक्ने आय भएका नागरिकलाई सामाजिक बीमाको दायरामा ल्याउनुपर्ने र न्यून आय भएका तथा विपन्न वर्गलाई राज्यले सामाजिक सहायता तथा पुनर्वितरणमार्फत संरक्षण गर्नुपर्ने उनले बताए ।

सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको हित संरक्षण गर्नुका साथै आर्थिक उत्पादकत्व बढाउनसमेत सहयोग गर्ने वाग्लेको भनाइ छ । विभिन्न मुलुकमा भएका प्रभाव मूल्याङ्कनले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दा विशेषगरी साना तथा मझौला उद्यमको उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पर्ने देखाएको उनले उल्लेख गरे ।

सामाजिक सुरक्षामा गरिने खर्चलाई आर्थिक उत्पादकत्वसँग जोडेर हेर्नुपर्ने बताउँदै उनले सामाजिक न्यायका क्षेत्रमा गरिने लगानी आफैँमा महत्वपूर्ण उद्देश्य भएको बताए । सामाजिक सुरक्षाले समृद्धि सिर्जना र त्यसको न्यायोचित वितरण दुवैमा योगदान पुर्‍याउने उनको भनाइ छ ।

यसैगरी, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्ने विषयमा पनि सरकारले काम गरिरहेको वाग्लेले जानकारी दिए । अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदर निर्धारण गरेर विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत आधारबारे छलफल भइरहेको उनले बताए ।

त्यस्तै, छरिएर रहेका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत संरचनामा रूपान्तरण गरी दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने विषयमा पनि सरकारले विभिन्न विकल्पमाथि छलफल गरिरहेको छ ।

स्वास्थ्य बीमालगायतका लोककल्याणकारी कार्यक्रमको समेत समीक्षा भइरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने बताए । उनले सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनमार्फत नयाँ पुस्तालाई समेत राज्यको उपस्थिति र संरक्षणको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए ।

NECO

Leave Your Comment

Related News