घरजग्गा कारोबारमा कमी, राजस्व संकलनमा भने बढी

काठमाडौं । पछिल्लो महिनामा घर जग्गा कारोबार थप घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले तयार गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौमा मुलुक भर २७ हजार ४९४ वटा मात्रै घरजग्गाका कारोबार भएका छन् ।

लिखित पारितका आधारमा यस्तो देखिएको हो । गत साउनमा यस्तो कारोबार संख्या ३१ हजार ६२१ वटा थियो । गत आवको भदौमा भने ३२ हजार ७९८ वटा घरजग्गा कारोबार भएका थिए । उक्त दुवै महिनाको तुलनामा घर जग्गा कारोबारमा कमी आएको देखिन्छ ।

साउनयता नयाँ आर्थिक वर्ष सुरु हुने र नेपाल राष्ट्र बैंकका मौद्रिक नीतिहरू लागू हुने हुँदा घरजग्गा कारोबारमा सकारात्मक प्रभाव पर्ने बताइन्छ । तर साउन सुरु भएदेखि नै कित्ताकाट ठप्प हुँदा घरजग्गा कारोबार प्रभावित बनेको नेपाल घरजग्गा आवास विकास महासंघका अधिकारीहरु बताउछन् । साउन सुरु भएपछि नयाँ ऋण जाने र कारोबार बढ्ने अपेक्षा गरिए पनि त्यस्तो नभएको महासंघका अध्यक्ष विष्णु घिमिरेको भनाइ छ । २०८१ भदौ २७ मा भूउपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न सरकारले आदेश दिए सँगै कारोबारमा सुस्तता आएको थियो ।

सरकारको वर्गीकरणको नीतिका कारण चालु आवको सुरुदेखि पनि घरजग्गा कारोबार न्यून थियो । भदौमा त्यस्तो कारोबार थप घटेको छ ।
जेनजीको आन्दोलनका कारण पनि घरजग्गा कारोबार प्रभावित हुन पुगेको बताइन्छ । कित्ताकाट नखुल्दा पनि घरजग्गा कारोबार प्रभावित भएको देखिन्छ ।

सत्ता नै ढाल्ने गरी भदौ २३ र २४ गते काठमाडौं लगायतका देशका बिभिन्न ठाउँमा जेन–जी आन्दोलन भएको थियो । त्यसपछि भदौ २७ गतेसम्म निषेधाज्ञा तथा कर्फ्यू थियो । भदौ २७ मा अन्तरीम सरकार बनेपछि मात्रै भदौ २८ गते पछि स्थिती सामान्य बन्दै आएको छ । झण्डै एक साता सरकारी सेवा अवरुद्ध भए जसको प्रभाव घरजग्गा कारोबारमा समेत पर्न गएको देखिन्छ ।

भदौमा काठमाडौं उपत्यकामा तीन हजार २५६ वटा घरजग्गाको कारोबार भएको छ ।

भदौमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६२० र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ । यस्तै, भक्तपुर मालपोत कार्यालयबाट ९१८ वटा घरजग्गा कारोबार भएको देखिन्छ ।

यस्तै, काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १८५, चावहिल मालपोत कार्यालयबाट ४३२, कलंकी मालपोत कार्यालयबाट ४२९, मनमैजु मालपोत कार्यालयबाट २१७, साँखु मालपोत कार्यालयबाट ३२५ र टोखा मालपोत कार्यालयबाट १२४ घरजग्गाका कारोबार भएका छन् ।

यस्तै,भदौमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबै भन्दा धेरै कारोबार भएको छ । त्यहाँबाट एक हजार ४०२ वटा घरजग्गाको लिखित पारित भएको देखिन्छ ।

दोस्रो स्थानमा धनुषाको जनकपुरधाम मालपोत कार्यलय रहेको छ । त्यहाँबाट एक हजार ६० वटा यस्तो कारोबार भएको छ ।

तेस्रो स्थानमा भने भाफाको भद्रपुर मालतपोत कार्यलय रहेको छ । त्यहाँबाट एक हजार २७ वटा घरजग्गा कारोबार भएको छ ।

विभागको तथ्यांकअनुसार चालु आवको दुई महिनाको कुल घरजग्गा कारोबार ५९ हजार ११५ वटा रहेको छ ।

गत आवको दुई महिनामा ७६ हजार ६३३ वटा घरजग्गा कारोबार भएको थियो । गत आवभर नेपाल भर पाँच लाख ९० हजार ५४३ वटा घरजग्गा कारोबार भएका थिए । यो तथ्यांकले चालु आवमा घरजग्गा कारोबार कम भएको देखाउँछ ।

राजश्व संकलन भने ३ अर्ब १४ करोड
भदौमा घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब १४ करोड सात लाख १६ हजार रुपियाँ राजस्व संकलन गरेको छ । घरजग्गा सम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको विभागले जनाएको छ ।

गत आवको भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार रुपियाँ राजस्व उठेको थियो । कारोबार संख्या घटना पनि राजस्व भने बढेको देखिन्छ ।साउन र भदौमा गरेर भने ६ अर्ब ४२ करोड ९८ लाख ५४ हजार रुपियाँ राजस्व उठेको छ ।

गत आवको पहिलो दुई महिनामा ६ अर्ब ९२ करोड ५३ लाख ४२ हजार रुपियाँ राजस्व उठेको थियो । गत आवभर ५३ अर्ब ५८ करोड ८२ लाख ७९ हजार रुपियाँ राजश्व घरजग्गा कारोबारबाट उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार