काठमाडौं । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई केवल नारा र कागजी व्यवस्थामा सीमित नराखी व्यवहार र संस्कारमा उतार्नुपर्नेमा जोड दिएकी छिन् ।
उनीले २००७ सालको क्रान्तिलाई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोषका रूपमा स्मरण गर्दै त्यस संघर्षमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन् । “२००७ सालको क्रान्ति केवल शासन परिवर्तन थिएन, त्यो रैतीबाट नागरिक बन्ने ऐतिहासिक क्षण थियो,” प्रधानमन्त्रीले भने ।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले विगतका राजनीतिक उपलब्धिहरू किन टिक्न सकेनन् भन्ने प्रश्न उठाउँदै लोकतान्त्रिक व्यवहार संस्थागत गर्न नसक्नु मुख्य कमजोरी भएको उल्लेख गरिन् । संविधानमा समानता लेखिए पनि व्यवहारमा विभेद कायम रहेको, सीमित वर्गले राज्यसत्ता र स्रोत–साधनमा एकाधिकार जमाइरहेको तथा दण्डहीनता मौलाएको भन्दै उनीले यसै कारण जनअसन्तोष बढेको बताइन् ।
भदौ २३ र २४ मा जेन–जी युवाहरूको अगुवाइमा भएको आन्दोलनप्रति संकेत गर्दै प्रधानमन्त्रीले उक्त आन्दोलनले भ्रष्टाचार, नातावाद र विभेदविरुद्ध आवाज उठाएको बताइन् । “सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, सुधारको अवसरका रूपमा ग्रहण गर्छ,” उनीले भनिन्।
लोकतन्त्रलाई जीवनशैलीका रूपमा परिभाषित गर्दै उनीले नागरिकको दैनिक जीवन—रोजगार, शिक्षा, स्वास्थ्य र महँगी—मा सुधार नआएसम्म लोकतन्त्रको औचित्य पुष्टि नहुने धारणा राखिन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको बताइन् । निर्वाचनमार्फत दिगो लोकतान्त्रिक स्थायित्वतर्फ नयाँ युगको सुरुवात हुने विश्वास पनि उनीले व्यक्त गरिन् ।


