झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए ।
उनले रङ्गशालामा तीन मतदान केन्द्र रहेका बताउँदै भने, “यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ ।” उनका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती छिन् भने सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे हुन् ।
‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा विशेष नापी कार्यालय दमककी सृजना पन्त छिन् भने सहायक मतदान अधिकृतमा जुनु पोखरेल छिन् ।
‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल छिन् भने सहायकमा प्रतिमा राई रहेकी उनले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयका पाँच वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुलाई धमाधम निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिरहेको कार्यालयमा प्रमुख तुलसी नेपालले बताइन् ।
झापामा सात लाख १३ हजार ५३७ जना मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन् । यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको उनको भनाइ छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ ।


