CLI

बाजुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, मतपेटिका सङ्कलन गरिँदै

बाजुरा। आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको ५१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार ११८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको छ । जम्मा ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले राससलाई जानकारी दिए ।

यो निर्वाचन तुलनात्मक रुपमा विगतका निर्वाचनभन्न्दा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । हाल मतपेटिका सङ्कलन भइरहेको छ । दुर्गम तथा विकट मतदान केन्द्र रहेको हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत आजै जिल्ला सदरमुकाम मार्तडी पु-याइएको छ ।

अन्य तीन मतदान केन्द्र बौडी, बाम र विच्छ्याको मतपेटिका विच्छ्या प्रहरीचौकीमा सङ्कलन गरिने र शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकारी पोखरेलले बताए । जिल्ला सदरमुकाम मार्तडी आसपासका मतपेटिका मतगणनास्थल रहेको जिल्ला समन्वय समिति बाजुरामा ल्याइसकिएको र अन्य क्षेत्रको मतपेटिका सुरक्षाकर्मीले ल्याउने तयारी सकिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

सडक क्षेत्र पुगेका मतदान केन्द्रहरुमा सवारीसाधनमा आज राति नै नेपाली सेनासहितको सुरक्षामा मतपेटिका ल्याउने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । यहाँ कूल ८७ हजार ८६१ मतदाता कायम छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र दुई अन्य मतदाता छन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave Your Comment

Related News