CLI

ट्रम्पको अभिव्यक्तिपछि ४ वर्षयताकै उच्च विन्दुबाट झर्‍यो तेलको मूल्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीचको युद्ध “छिट्टै अन्त्य हुन सक्ने” संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षकै उच्च स्तरबाट अचानक घटेको छ ।

ब्रेन्ट क्रुडको मूल्य सोमबार कारोबारका क्रममा प्रति ब्यारेल ११९.५० डलरसम्म पुगेको थियो । मध्यपूर्वमा द्वन्द्व बढ्दै जाँदा ऊर्जा आपूर्तिमा ठूलो संकट आउन सक्ने चिन्ताले मूल्य उकालो लागेको थियो ।

तर ट्रम्पले एक अन्तर्वार्तामा युद्ध “झन्डै समाप्त भइसकेको जस्तो” बताएका केही घण्टाभित्रै तेलको मूल्य घटेर करिब ९१.५८ डलर प्रति ब्यारेलमा झरेको थियो । अहिले यो समाचार लेख्दै गर्दा क्रुड आयलको भाउ ९.१९ प्रतिशत घटेर ८६ डलरमा कारोबार हुँदैछ । ब्रेन्टको भने भाउ ९० डलरमा झरेको छ।

ट्रम्पले अमेरिका “धेरै हिसाबले जितिसकेको” बताए पनि अझ पर्याप्त नभएको बताएका छन् । साथै उनले इरानलाई स्ट्रेट अप हार्मोजबाट तेल आपूर्ति अवरुद्ध नगर्न चेतावनी दिएका छन् । विश्वको करिब पाँचौँ भाग तेल र समुद्री ग्यास ट्यांकर यही जलमार्गबाट आवतजावत गर्ने भएकाले यसको अवस्थाले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्छ ।

इरानले भने अमेरिका र इजरायलको आक्रमण जारी रहे क्षेत्रबाट “एक लिटर तेल पनि निर्यात हुन नदिने” चेतावनी दिएको छ । उक्त प्रतिक्रिया Islamic Revolutionary Guard Corps का प्रवक्तालाई उद्धृत गर्दै इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच Emmanuel Macron ले द्वन्द्वको तीव्र चरण सकिएपछि महत्त्वपूर्ण व्यापार मार्गको सुरक्षा गर्न केही देशहरूले तेल ट्यांकर र कन्टेनर जहाजलाई सैनिक जहाजमार्फत सुरक्षा दिन सक्ने संकेत गरेका छन् ।

ऊर्जा बजारमा तीव्र उतारचढाव देखिएपछि केही देशहरूले इन्धन अभाव र मूल्यवृद्धिको जोखिम कम गर्न कदम चाल्न थालेका छन् । क्रोएसिया, हंगेरी, दक्षिण कोरिया र थाइल्याण्डले इन्धन मूल्यमा सीमा तोकेका छन् भने फिलिपिन्सले सरकारी कर्मचारीलाई ऊर्जा बचत गर्न निर्देशन दिएको छ ।

विश्लेषकहरूका अनुसार सोमबारको उच्च स्तरबाट तेलको मूल्य घटे पनि यो केही साताअघिको तुलनामा अझै उल्लेखनीय रूपमा उच्च नै रहेको छ, जसले विश्व अर्थतन्त्रमा दबाब कायम राख्ने सम्भावना रहेको छ ।

 

Leave Your Comment

Related News