काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा संघीय सञ्चित कोषको समग्र वित्तीय अवस्था ऋणात्मक देखिएको छ । प्रतिवेदनमा सरकारी आय, खर्च तथा बैंक मौज्दातबीच उल्लेखनीय अन्तर देखिएको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा राजस्व, अनुदान, आन्तरिक तथा बाह्य ऋण, गत वर्षको नगद मौज्दात र अन्य समायोजनसमेत गरी कुल रु. १५ खर्ब ४१ अर्ब २४ करोड १९ लाख प्राप्त भएको थियो। सो अवधिमा चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ रु. १५ खर्ब १३ अर्ब २४ करोड ५९ लाख खर्च भएको देखिएको छ।
यस आधारमा वर्षअन्त्यमा रु. २७ अर्ब ९९ करोड ६० लाख मौज्दात देखिए पनि गत वर्षसम्मको रु. २ खर्ब २८ अर्ब ३५ करोड ७६ लाख ऋणात्मक मौज्दात समायोजन गर्दा संघीय सञ्चित कोषमा रु. २ खर्ब ३६ करोड १६ लाख ऋणात्मक मौज्दात कायम भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, नेपाल सरकारका अन्य सरकारी कोष तथा खाताहरूमा समेत वर्षअन्त्यमा रु. १ खर्ब ७२ अर्ब ५ करोड ३३ लाख ऋणात्मक मौज्दात रहेको जनाइएको छ। उक्त रकम समायोजन गर्दा सरकारको कुल बैंक तथा नगद मौज्दात रु. २८ अर्ब ३० करोड ८३ लाख ऋणात्मक रहेको देखिएको छ।
प्रतिवेदनले नेपाल राष्ट्र बैंकको वित्तीय विवरण र सरकारी वित्तीय विवरणबीच पनि अन्तर देखाएको छ। नेपाल राष्ट्र बैंकको विवरणअनुसार सञ्चित कोषको मौज्दात रु. ६९ अर्ब ८६ करोड ३१ लाख ऋणात्मक रहेको छ, जुन सरकारी वित्तीय विवरणमा देखाइएको रकमभन्दा रु. ४१ अर्ब ५५ करोड ४८ लाख बढी रहेको उल्लेख गरिएको छ।


