बनेपा । सरकारले दोस्रो चरणमा क्यूआर कोडसहितका थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि काम सुरु गरिएको हो ।
सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराव तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिए । पहिलो चरणको सम्झौता अन्तर्गत वैशाख पहिलो सातामै १२ लाख थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरिएको र थप दोस्रो चरणको काम अघि बढाइएको उनको भनाई छ ।
केन्द्रले पहिलो चरणको १२ लाखमध्ये अत्यावश्यक ३७ हजार ६९८ थान, ब्याकलग ११ लाख ३१ हजार ७५ थान र दैनिक प्रिन्ट ३१ हजार २२७ थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरेका हो ।
केन्द्र र विभागबिच गत कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भएको थियो । केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको जनाएको छ।
सरकारले बाँकी रहेका ब्याकलग लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरेको हो। दोस्रो चरणको सम्झौता अन्तर्गत हालसम्म ८२४ थान अत्यावश्यक र २१ हजार ४८६ थान दैनिक प्रिन्ट गरी कुल २२ हजार ३१० थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरिएको छ । हाल १२९ थान अत्यावश्यक र ४ हजार ८१ थान दैनिक प्रिन्ट लाइसेन्स छपाइ प्रक्रियामा रहेको केन्द्रले जनाएको छ ।
त्यसैगरी, ५० हजार ८९७ थान ब्याकलग लाइसेन्स छापिसकिएको र हस्तान्तरणको प्रक्रियामा रहेको जानकारी दिइएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच प्रति थान १९५ रुपैयाँ १७ पैसामा लाइसेन्स छपाइ गर्ने सम्झौता भएको छ ।
यसैबिच, केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौता अनुसार हालसम्म ३० लाख थान हुलाक टिकट छापेर हस्तान्तरण गरिसकेको जनाएको छ। थप ६० लाख थान टिकट छाप्ने सम्झौता प्रक्रियामा रहेको छ ।
त्यस्तै, नेपाल सरकारको नीतिबमोजिम लाइसेन्स नवीकरण वा ट्रायल पासको राजस्व भुक्तानी गरिसकेपछि यातायात व्यवस्था विभागबाट तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्रै प्रिन्ट सम्पन्न गरी बुझाउनुपर्ने दैनिक लाइसेन्स ४ हजार ८१ थान छपाइ प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ प्राविधिक कर्मचारी गरी २५ जना कर्मचारीलाई खटाइएको छ।
सरकारले राहदानी, बैँक नोटलगायतका सुरक्षण मुद्रण सामग्री विदेशमा छाप्दा बाहिरिने रकम स्वदेशमै रोक्ने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ देखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना निर्माण सुरु गरेको हो ।


