CLI

करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ,बुद्धएयरको नेपालगञ्ज-पोखरा उडान स्थगत

काठमाडौं । बुद्धएयरले नेपालगञ्ज–पोखरा सिधा उडान केही समयका लागि स्थगित गरेको छ । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको उक्त उडान मंगलबारदेखि रोकिएको हो ।

बुद्धएयर नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु तथा इन्धन खर्च बढ्नुका कारण उडान एक महिनाका लागि स्थगित गरिएको हो ।

उनका अनुसार मलमास परेकाले भारतबाट आउने पर्यटकको आवागमन घटेको छ भने इन्धनको मूल्यवृद्धिले सञ्चालन लागत पनि बढाएको छ ।

पर्यटन प्रवर्द्धन तथा भारतीय यात्रुलाई सहजता दिने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा सिधा उडान सञ्चालन हुँदै आएको थियो ।

उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी तथा सर्वसाधारण निराश बनेका छन् । अब यात्रुले पुनः सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्नुपर्ने अवस्था आएको छ ।

नाट्टा नेपालगञ्ज का संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्धएयरले नियमित उडान रोकेको आधिकारिक जानकारी आएको बताउँदै सेवा अनिश्चित बनेको जिकिर गरे । सरकारले गर्नुपर्ने पहल निजी क्षेत्रले गरेको भए पनि आवश्यक सरकारी सहयोग नपाउँदा सेवा बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

बुद्धएयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा दिँदै आएको थियो ।

उडान सञ्चालनमा आएपछि पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारा ताल लगायत पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो । साथै भारतका लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पनि पोखरा आउजाउ गर्न सुविधा पुगेको थियो ।

उडान सुरु हुँदा न्यूनतम भाडा ४ हजार ९३५ रुपैयाँदेखि अधिकतम ७ हजार ६३५ रुपैयाँसम्म निर्धारण गरिएको थियो । यात्रुको चाप बढे दैनिक उडानसम्म विस्तार गर्ने योजना बनाइएको भए पनि इन्धन मूल्यवृद्धिपछि भाडादर परिवर्तन हुँदा यात्रु सङ्ख्या घटेकाले सेवा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ ।

Leave Your Comment

Related News