काठमाडौं । विदेशस्थित नेपाली दुतवास तथा कुटनीतिक नियोगहरुले संकलन गरेको राज्स्व सरकारलाई बुझाएका छैनन् । विदेशस्थित नेपाली दुतवास तथा कुटनीतिक नियोगहरुले भिसा र जरिवाना शुल्क भनि उठाएको ७७ करोड ७७ लाख ४१ हजार राजस्व नेपाल सरकारले प्राप्त गर्न सकेको छैन ।
अध्यागमन विभागले सञ्चालनमा ल्याएको “नेपाली पोर्टल” नामक विद्युतीय प्रणालीमा कूटनीतिक नियोगमा उठेको भिसा शुल्क तथा जरिवाना रकम राख्नुपर्नेमा नराखिएको पाइएको हो । विदेशस्थित विभिन्न कूटनीतिक नियोगमा उठेको भिसा शुल्क तथा जरिवानातर्फको रु. ७७ करोड ७७ लाख ४१ हजार नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीमा विदेशी मुद्रा प्रविष्ट गर्ने व्यवस्था नभएका कारण फरक परेको विभागले जनाएको छ । उक्त फरक रकम सम्बन्धमा यकिन गरी हिसाब अद्यावधिक गर्नुपर्ने देखिन्छ।
कुटनीतिक नियोग मात्र नभई विभागले विभिन्न कार्यालयबाट आउने राजस्व समेत प्रणालीमा वा सरकारको राजस्व प्रणालीमा नराखेको पाइएको छ । विभागले सञ्चालनमा ल्याएको “नेपाली पोर्टल” नामक विद्युतीय प्रणालीमा अध्यागमन विभाग, अध्यागमन कार्यालय वीरगञ्ज, कञ्चनपुर, पोखरा, कैलाली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा विदेशस्थित विभिन्न कूटनीतिक नियोगसमेतले भिसा शुल्क तथा जरिवानाबापत रु. ५ अर्ब १५ करोड ३३ लाख ७२ हजार राजस्व सङ्कलन गरेकोमध्ये रु. ४ अर्ब ३६ करोड ९४ लाख ८८ हजार मात्र नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीमा दाखिला भई रु. ७८ करोड ३८ लाख ८४ हजार दाखिला भएको देखिएन।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २७(१) मा नेपाल सरकारलाई प्राप्त हुने राजस्व रकम प्राप्त भएपछि सोही दिन र सोही दिन सम्भव नभए सोको भोलिपल्ट राजस्वको लेखा राखी बैंक दाखिला गर्नुपर्ने व्यवस्था भए पनि कुटनीतिक नियोगहरुले नियम विपरित काम गरेको पाइएको छ ।
विभागले विदेशी नागरिकको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित गर्ने एवं नेपाली नागरिकहरूको आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने कार्य गर्दै आएको छ।


