काठमाडौं । नेपालको शैक्षिकस्तर सुधार हुदै जाँदा शिक्षित नागरिकहरु सरकारी सेवा प्रतिको आर्कषण समेत बढ्दो रहेको छ । लोकसेवा आयोगका अनुसार सरकारका विभिन्न पदमा आवेदन माग गर्दा पर्याप्त आवेदनहरु पर्ने गरेको छ ।
आयोगले विभिन्न पदका लागि आवेदन माग गरेकोमा सबैभन्दा बढी नायब सुब्बाका लागि आवेदन परेको जनाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सङ्घीय निजामती सेवातर्फ नायब सुब्बा वा सो सरहको २६५ पदका लागि भएको विज्ञापनमा १ लाख ६५ हजार ५०४ वटा दरखास्त परेको हो । जुन संख्या अत्याधिक धेरै भएको आयोगले जनाएको छ ।
आयोगबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८१÷८२ केन्द्रीय कार्यालय र मातहतका कार्यालयबाट यो वर्ष खुला ९५०, समावेशी ८४९, बढुवा १ हजार ५० र आन्तरिक ३३२ समेत ३ हजार १८१ पदका लागि १ हजार ५१३ विज्ञापन तथा बढुवासम्बन्धी सूचना प्रकाशन भएको थियो । सो बमोजिम माग भएका पदहरूमा खुला प्रतियोगितातर्फ २ लाख ५४ हजार ३५७, समावेशी प्रतियोगितातर्फ १ लाख ९४ हजार ७४३ तथा आन्तरिक प्रतियोगितातर्फ १० हजार ७३४ समेत कुल ४ लाख ५९ हजार ८३४ दरखास्त परेको हो ।
आयोगका अनुसार सो वर्ष एकीकृत र संयुक्त परीक्षा प्रणालीअन्तर्गत प्रथम चरणको परीक्षामा १ लाख ३७ हजार ३३३ जना परीक्षार्थी सम्मिलित भएका छन्। प्रथम चरणबाट उत्तीर्ण भएकासमेत लिखित परीक्षामा १७ हजार ७३५ महिला र ३५ हजार ८८६ पुरुष समेत ५३ हजार ६२१ उम्मेदवार सम्मिलित भएकोमा ९०२ महिला र १ हजार ६९० पुरुष समेत २ हजार ५९२ (गत वर्ष विज्ञापन भई यस वर्ष सिफारिस भएका समेत) उम्मेदवारहरू स्थायी नियुक्तिको सिफारिस आयोगले गरेको छ ।
आयोगले ४ सुरक्षा निकाय, १०४ संगठित संस्था र २ विश्वविद्यालयको पदपूर्ति प्रक्रियामा प्रतिनिधित्व गरेकोमा सो वर्ष ४ सुरक्षा निकायका १२ हजार ३९७ र ४० संगठित संस्थाका ५ हजार ९५ पदमा पदपूर्ति गर्न सहमति प्रदान गरेको छ। आयोगले ४ सुरक्षा निकायका ४६ विज्ञापनका लागि लिखित परीक्षाबाट ७ हजार ५७ जना अन्तर्वार्ताका लागि छनोट गरी सिफारिस गरेको छ। संगठित संस्थातर्फ ६६७ विज्ञापनअन्तर्गत १ लाख १६ हजार २२९ आवेदक लिखित परीक्षामा सम्मिलित भएकोमा १४ हजार ६१३ जनालाई अन्तर्वार्ताका लागि छनोट सिफारिस गरेको छ। त्यसैगरी विश्वविद्यालयतर्फ १२३ विज्ञापनमा लिखित परीक्षाबाट २९१ परीक्षार्थीलाई अन्तर्वार्ताका लागि सिफारिस गरिएको छ। संगठित संस्थाको पदपूर्ति प्रक्रियामा आयोगबाट २० करोड १५ लाख १२ हजार खर्च भएको छ।
आयोगका अनुसार विभिन्न प्राविधिक कारणले गर्दा परीक्षा समेत स्थगित भएको छ । आयोगको वार्षिक कार्यतालिकामा समावेश भएका वरिष्ठ टेक्सटाइल अधिकृत, सिनियर कम्प्युटर इन्जिनियर, वरिष्ठ क्लिनिकल साइकोलोजी र वातावरण निरीक्षक पदमा पाठ्यक्रम नभएका कारण परीक्षा स्थगित गरिएको छ । त्यसैगरी राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) अमिन, मेकानिक्स, सहायक कम्प्युटर अपरेटर, राजपत्राङ्किततर्फ नेफ्रोलोजी, न्युरोलोजी, कार्डियोलोजी, युरो सर्जरी, किड्नी ट्रान्सप्लान्ट सर्जन, निओनेटोलोजी, हेमाटोलोजी उपसमूहका ३८ विज्ञापनका ४४ पदमा दरखास्त नपरेका कारण परीक्षा नै सञ्चालन हुन सकेन ।


