काठमाडौं । सरकारको लगानी रगेको सार्वजनिक संस्थानमध्ये पाँच संस्थान उच्च नोक्सानमा रहेका छन् । उच्च नोक्सानमा रहेका संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल दुग्ध विकास संस्थान रहेका छन् ।
कुल नोक्सानमध्ये यी पाँच संस्थानको हिस्सा ५१.३८ प्रतिशत रहेको छ । अघिल्लो समीक्षा अवधिमा यस्तो हिस्सा ६३.६३ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा पनि नेपाल वायुसेवा निगम सर्वाधिक खुद नोक्सानमा रहेको संस्थान बनेको छ । जहाज खरिदका लागि लिइएको ऋणको साँवा–ब्याज भुक्तानीमा समस्या, उच्च प्रशासनिक खर्च, जहाजको न्यून उपयोग तथा व्यावसायिक योजनाको कमजोर कार्यान्वयनका कारण निगमको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएको उल्लेख गरिएको छ ।
उच्च नोक्सानमा रहेका अन्य संस्थानको कमजोर वित्तीय अवस्थाका कारणमा उच्च महसुल बक्यौता, कमजोर समन्वय, न्यून क्षमता उपयोग, उच्च प्रशासनिक खर्च तथा बदलिँदो बजारमा प्रतिस्पर्धी क्षमता कमजोर हुनु रहेका छन् ।
त्यस्तै, ऋणको साँवा–ब्याज भुक्तानीमा कठिनाइ तथा व्यावसायिक योजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समग्र सार्वजनिक संस्थानको खुद तथा सञ्चित नोक्सान बढ्दै गएको आर्थिक समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले सार्वजनिक संस्थानमा वित्तीय जोखिमसमेत बढाएको प्रतिवेदनले औंल्याएको छ ।



