CLI

सेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा करिब एक तिहाइले घटेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको उल्लेख छ । गत आवको सोही अवधिमा यस्तो कारोबार १४ खर्ब ६५ अर्ब ६६ करोड रुपैयाँ थियो ।

त्यस्तै औसत दैनिक कारोबार रकम पनि गत वर्षको ९ अर्ब ८३ करोड रुपैयाँ बाट घटेर ७ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । कारोबार भएका धितोपत्रको सङ्ख्या २७.२ प्रतिशत र कारोबार सङ्ख्यामा २९.८ प्रतिशतले घटेको छ । अघिल्लो आवको तुलनामा नेप्से सूचकाङ्क र बजार पुँजीकरण भने सकारात्मक रहेको छ । चालु आवको फागुन मसान्तमा नेप्से परिसूचक २८२०.४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २७३६.४९ विन्दुको तुलनामा बढी हो । बजेट अघिको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक २७८२.१० विन्दुमा रहेको छ ।

त्यसैगरी फागुन मसान्तसम्म कूल बजार पुँजीकरण अघिल्लो आवको सोही अवधीको तुलनामा ४.४२ प्रतिशतले वृद्धि भई ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही समयमा कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो ।

२६ प्रतिशत नागरिकले खोले डम्याट खाता 

सार्वजनिक विवरणअनुसार चालु आवको फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ । जुन कूल जनसङ्ख्याको २६.२ प्रतिशत हो । यो संख्या २०८२ असारसम्म ६९ लाख ९७ हजार थियो । त्यस्तै २०८२ असार मसान्तसम्म मेरो सेयर खाताको संख्या ५९ लाख ७६ हजार रहेकामा फागुनसम्म ६६ लाख १३ हजार पुगेको छ ।

दोस्रो बजारमा कारोबार गर्ने बढे

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या बढेको छ । सार्वजनिक विवरणअनुसार चालुु आवको फागुनसम्म दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग–इन लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४६२ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या २५ लाख ४९ हजार ६९६ थियो ।

Leave Your Comment

Related News