काठमाडौं । सरकारले सर्वसाधारणको हित र सुरक्षालाई ध्यानमा राख्दै २५ वटा अत्यावश्यक सेवाहरूमा हड्ताल गर्न निषेध गरेको छ। गृह मन्त्रालयको सूचना अनुसार आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले यो आदेश जारी गरेको नेपाल राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
यसरी निषेध गरिएका सेवाहरूमा डाँक, तार, टेलिफोन, इन्टरनेट, सञ्चार तथा आन्तरिक सुरक्षा र रक्षा व्यवस्था रहेका छन् । त्यसैगरी जल, स्थल र हवाईमार्गका यातायात, हवाई अड्डा व्यवस्थापन, बैंक, बिमा, सरकारी छापाखाना, कन्सुलर तथा राहदानी विभागबाट प्रवाह हुने सेवाहरूमा पनि हड्ताल निषेध गरिएको छ ।
यसका साथै अस्पताल, स्वास्थ्य केन्द्र, एम्बुलेन्स, औषधि निर्माण तथा बिक्री वितरण, खानेपानी, विद्युत, फोहोरमैला व्यवस्थापन, एलपी ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति, खाद्यान्नजस्ता दैनिक उपभोग्य वस्तुको ढुवानी, मौसम तथा बाढी पूर्वानुमान र होटल तथा रेष्टुराँ सम्बन्धी सेवाहरूमा समेत कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ ।


