काठमाडौं । खुश्बु ओलीले नेपाललाई पुनः सनातन हिन्दु राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई ज्यान मार्ने तथा बलात्कार गर्ने धम्की आएको बताएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध धम्कीपूर्ण सन्देशहरू आइरहेको उल्लेख गरिन्। नेपाललाई सनातनी हिन्दु राज्य बनाउनुपर्ने विषय सदनमा उठाएपछि केही इसाई धर्मावलम्बीहरूबाट योजनाबद्ध रूपमा धम्की आएको उनको आरोप थियो।
उनले नेपालमा ९० प्रतिशतभन्दा बढी नागरिक सनातन परम्परामा आस्था राख्ने दाबी गर्दै संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाललाई पुनः सनातन राज्य घोषणा गर्नुपर्ने विषय उठाउँदा आफूमाथि आक्रमण भएको बताइन्।
सांसद ओलीले भनिन्, “९० प्रतिशत सनातनीहरू बसोबास गर्ने देशमा नेपालको संविधानले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यो सदनमा उठाउँदाखेरी सुनियोजित रूपमा मलाई ज्यान मार्ने, बलात्कार गर्ने धम्की सामाजिक सञ्जालबाट आइरहेको छ।”
उनले धर्मनिरपेक्षताका नाममा फरक विचार राख्ने व्यक्तिलाई धम्की दिनु अस्वीकार्य भएको टिप्पणी गर्दै यसप्रति सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
सांसद ओलीले आफू व्यक्तिगत रूपमा यस्ता धम्की सामना गर्न तयार रहेको बताउँदै यसलाई केवल आफ्नो विरुद्धको आक्रमणका रूपमा नभई सम्पूर्ण सनातनी समुदायमाथिको प्रहारका रूपमा बुझ्नुपर्ने धारणा राखिन्।
“यो धम्की म सहन सक्छु, तर यो धम्की मलाई मात्र नभई सिंगो सनातनीहरूमाथिको प्रहार हो,” उनले सदनमा भनिन्।
उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै फरक विचारप्रति सहिष्णुता अपनाउन सबै पक्षलाई आग्रह समेत गरिन्।


