CLI

तीन सय ५० सेवाग्राहीको घरमै राहदानी

तनहुँ । सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने अभियानअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको घरमै राहदानी वितरण सेवा तनहुँमा प्रभावकारी बन्दै गएको छ।

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने लक्ष्यअनुसार तनहुँमा सुरु गरिएको उक्त सेवाबाट हालसम्म ३५० जना सेवाग्राही लाभान्वित भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए।

सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर २७ मा सरकारी सेवालाई घरदैलोमै पु¥याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’को रूपमा विकास गर्ने तथा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था लागू गर्ने उल्लेख छ।

सोही नीतिअनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले हुलाक कार्यालयमार्फत गत वैशाख ४ गतेदेखि राहदानी वितरण सेवा घरदैलोमै पुर्‍याउने कार्यक्रम सुरु गरेको हो।जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय तनहुँबीचको सहकार्यमा सञ्चालन भइरहेको उक्त सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट राहदानी तयार भएपछि जिल्ला हुलाक कार्यालयले त्यसलाई सेवाग्राहीको घर वा सेवाग्राहीले तोकेको स्थानमा पुर्‍याउने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

रेग्मीले नागरिकलाई सहज, छिटो र झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्यले घरमै राहदानी वितरण कार्यक्रम सुरु गरिएको र प्रभावकारी बन्दै गएको उल्लेख गरे। उनले भने, “राहदानी लिनका लागि सेवाग्राहीले फेरि जिल्ला प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यता हटेको छ । हुलाक कार्यालयमार्फत राहदानी सिधै घर वा सेवाग्राहीले तोकेको स्थानमा पुर्‍याउने व्यवस्था गरिएकाले समय, श्रम र यातायात खर्चको बचत भएको छ।”

रेग्मीका अनुसार सेवा सुरु भएको छोटो अवधिमै नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । विशेषगरी ज्येष्ठ नागरिक, महिला, विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिक तथा दुर्गम क्षेत्रका सेवाग्राहीलाई यस सेवाले ठूलो राहत दिएको उनले बताए।

“सरकारी सेवा नागरिकमैत्री र प्रविधिमैत्री बनाउन सरकार लागिपरेको छ । नागरिकलाई सेवा लिन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा नै नागरिकसम्म पुर्‍याउने अवधारणाअनुसार यो कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने।

रेग्मीका अनुसार व्यास नगरपालिकामा सबैभन्दा बढी ९५ जना सेवाग्राहीले घरमै राहदानी प्राप्त गरेका छन् । त्यसैगरी भानु नगरपालिकामा ७३, शुक्लागण्डकी नगरपालिकामा ६८, भिमाद नगरपालिकामा ३८, घिरिङ गाउँपालिकामा २९, आँबुखैरेनी गाउँपालिकामा २६, म्याग्दे गाउँपालिकामा १७ तथा बन्दीपुर गाउँपालिकामा चार जनाले उक्त सेवा प्राप्त गरेका छन्।

आगामी दिनमा राहदानी मात्र नभई अन्य सरकारी कागजातको वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको उनले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले घरमै राहदानी वितरण सेवाले नागरिकको समय बचत गर्नुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।

 

Leave Your Comment

Related News