काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति आंशका नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री बालेनले रास्वपा महाधिवेशनमा बोल्दै देशको सीमाका विषयमा आशंका नगर्न आग्रह गरेका हुन् ।
प्रम बालेनले भने, ‘कालापानी हाम्रो हो भन्ने प्रमाण छ, त्यही भनेको हो । छिमेकीसँग बसेर मिलाउँछौँ ।’ उनले बेलायतसँग मध्यस्थता गरेर होइन, प्रमाण लिएर भारतसँग छलफल गर्ने संकेत गरे ।
पछिल्लो समय सीमा विवाद र उनले दिएको अभिव्यक्तिलाई लिएर बजारमा चलिरहेका अनेकन् चर्चा–परिचर्चामाथि पूर्णविराम लगाउँदै प्रधानमन्त्री बालेनले सीमाको मुद्दामा कुनै सम्झौता नहुने बताए ।
प्रधानमन्त्री बालेनले कालापानी, लिपुलेक र लिम्पियाधुराको सवालमा नेपालसँग अकाट्य प्रमाणहरू सुरक्षित रहेको उल्लेख गरे । सीमा विवाद सल्टाउन कुनै तेस्रो मुलुक वा अन्तर्राष्ट्रिय मध्यस्थताको आवश्यकता नरहेको उनको संकेत थियो ।
प्रम बालेनले नेपालले सीमासम्बन्धी कतिपय असमझदारीहरूलाई कूटनीतिक संवादमार्फत सुल्झाउन लागिपरेको स्पष्ट पारे ।
रास्वपा महाधिवेशनको मञ्चबाट प्रधानमन्त्रीले दिएको यो प्रष्टीकरणलाई राजनीतिक वृत्तमा छिमेकी मुलुकसँगको सम्बन्धलाई नबिगारी, राष्ट्रिय हित रक्षा गर्ने सन्तुलित कूटनीतिक कदमका रूपमा हेरिएको छ ।


