CLI

मूल्य घटेपछि निजी  पेट्रोल पम्प बन्द, इन्धन अभावको कृत्रिम अवस्था सिर्जना

फाइल तस्बिर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएपछि देशका विभिन्न स्थानमा निजी   पेट्रोल पम्प सञ्चालकहरूले पम्प बन्द गरेका छन्। बढी मूल्यमा खरिद गरेको इन्धन सस्तोमा बिक्री गर्नुपरेको भन्दै केही सञ्चालकले बिक्री नै रोकेपछि उपभोक्ताहरू इन्धन नपाई फर्किन बाध्य भएका छन्।

पम्प सञ्चालकहरूले पम्पबाहिर ‘पेट्रोल, डिजेल छैन’ भन्ने सूचना राखेर बिक्री बन्द गरेका छन्। यसका कारण बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ भने इन्धन लिन पुगेका सवारी चालक तथा उपभोक्ताले सास्ती खेप्नुपरेको छ।

नेपाल आयल निगमले मङ्गलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएको थियो। निगम सञ्चालक समितिको निर्णयअनुसार हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य पनि समायोजन गरिएको छ।

यसअघि निगमले इन्धनको मूल्य बढाउँदा पम्प सञ्चालकहरूले मौज्दात इन्धन उच्च मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउने गरेका थिए। तर मूल्य घटेपछि भने बढी मूल्यमा खरिद गरिएको मौज्दातका कारण घाटा हुने भन्दै केही पम्प सञ्चालकले बिक्री बन्द गरेपछि उपभोक्ताले इन्धन अभावको सामना गर्नुपरेको छ।

पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेको छ । यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले यहाँ पनि मूल्य समायोजन गरेको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर (१४.२ केजी) दुई हजार ६० रुपैयाँ पर्नेछ । यसअघि ग्यासको मूल्य दुई हजार एक सय ६० रुपैयाँ रहेको थियो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दुई सय २९ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलरले घटाएर एक हजार ५ सय ६६ डलर कायम गरिएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ‘ब्रेकइभन पोइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा बिक्री मूल्य कायम गरेको जनाएको छ । जसअनुसार अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ ।

Leave Your Comment

Related News