CLI
Global College

पेट्रोल पम्पले इन्धनको कृत्रिम अभाव सिर्जना गरे तत्काल कानुनी कारबाही गर: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्प सञ्चालकलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता शाहीले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट ‘पेट्रोल छैन’ र ‘डिजेल छैन’ भन्दै बिक्री बन्द गरिएको सूचना प्राप्त भएको उल्लेख गरेका छन्।

उनले मूल्य घटेपछि पुरानै मूल्यमा खरिद गरिएको इन्धनबाट बढी नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशंका व्यक्त गरे। यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानुनी शासनमाथिको चुनौती भएको उनको भनाइ छ।

शाहीले सरकार, सम्बन्धित नियामक निकाय तथा अनुगमन टोलीलाई बजार अनुगमन तत्काल तीव्र बनाउन आग्रह गर्दै इन्धन लुकाएर बिक्री बन्द गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

साथै उनले आम उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै मूल्य घटेपछि इन्धन लुकाइएको, ‘स्टक छैन’ भन्दै बिक्री रोकिएको वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएमा सम्बन्धित पेट्रोल पम्पको नाम, ठेगाना, फोटो वा भिडियोसहित प्रमाण उपलब्ध गराउन अनुरोध गरेका छन्।

प्राप्त प्रमाणका आधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पहल गर्ने प्रतिबद्धता समेत नेता शाहीले जनाएका छन्।

Leave Your Comment

Related News