CLI

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवा सुरु, डिजिटल पोर्टलमार्फत घरबाटै आवेदन दिन सकिने

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन कर्जा आवेदन सेवा सुरु गरेको छ ।

सरकारको सुशासन र नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनालाई आत्मसात् गर्दै बैंकले ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा र अन्योल हटाउन डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

अनलाइन कर्जा आवेदनका लागि बैंकको आधिकारिक वेबसाइटमा रहेको Quick Access अन्तर्गत Online Loan Application लिंकमार्फत RBB Xmart Lending Digital Loan Portal मा प्रवेश गर्न सकिनेछ । उक्त पोर्टलमा इमेल, युजरनेम र पासवर्डमार्फत दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दर्तापछि नाम, सम्पर्क नम्बरलगायत विवरण प्रविष्ट गरी निर्देशनअनुसार प्रक्रिया अघि बढाउन सकिने बैंकले जनाएको छ । आवेदन दर्ता भएपछि ग्राहकले आवेदनको अवस्था Track Progress मार्फत हेर्न सक्नेछन् । सेवाको सहजताका लागि QR कोडसमेत उपलब्ध गराइएको छ ।

बैंकले अनलाइन कर्जा आवेदन सेवाको अधिकतम उपयोग गर्न आम नागरिक, व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ ।

वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल ७७ जिल्लाका ३१६ शाखामार्फत कर्जा, निक्षेप, एटीएम तथा मोबाइल बैंकिङलगायत सेवा प्रदान गर्दै आएको छ ।

Leave Your Comment

Related News