काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ६१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता ६१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०७, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९३, एकतर्फी सडकमा सवारी चलाउने ९६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २५६ गरी कूल दुई हजार जनालाई कारबाही गरिएको हो ।


