काठमाडौं । न्युरोडस्थित कर्नर प्वाइन्ट रेस्टुरेन्ट एण्ड बार प्रा.लि. लाई अनुगमनका क्रममा विभिन्न कमजोरी भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु. २ लाख १ हजार जरिवाना गरेको छ।
विभागका अनुसार अनुगमनका क्रममा रेस्टुरेन्टमा प्रयोग भइरहेको खाने तेलको (Total Polar Materials) २२ प्रतिशत रहेको पाइएको थियो। त्यस्तै, म्याद नाघेको Swas ब्रान्डको फ्रुट सिरप प्रयोग गरिएको, पिज्जा बेस बनाउन प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको तथा फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा भण्डारण गरिएको पाइएको छ। सरसफाइ भने सामान्य अवस्थामा रहेको विभागले जनाएको छ।
अनुगमनपछि विभागले रेस्टुरेन्टलाई देखिएका सबै कैफियत तत्काल सुधार गरी तीन दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, म्याद नाघेको तथा पूर्ण लेबल विवरण नभएको Swas ब्रान्डका दुई बोतल फ्रुट सिरप नष्ट गरिएको विभागले जनाएको छ।


