काठमाडौं । अविरल वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न भागका प्रमुख सडक प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ८ः३० बजेसम्म देशभर ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेश को भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
सबैभन्दा बढी प्रभाव बागमती प्रदेश मा परेको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्ड सम्भावित बाढीको जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा मर्मत कार्य जारी रहेकाले सवारी आवागमन रोकिएको छ। उक्त सडक साउन २५ गतेसम्म बन्द रहने जनाइएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
गण्डकी प्रदेश मा कास्कीको पोखरा–२२ क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग मा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड भने पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको मालमुल–पाल्पा सडकखण्डमा पहिरो हटाइएपछि सवारी सञ्चालन पुनः सुचारु भएको छ।
कर्णाली प्रदेश मा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा पर्ने घोराही–रुकुम शहीद मार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश को बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा पर्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन, मौसमको पूर्वानुमानलाई ध्यान दिन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई प्राथमिकताका साथ पालना गर्न पनि अनुरोध गरेको छ।


