काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८२८३ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान गरेको छ ।
आधारभूत मूल्यमा तयार गरिएको मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यो वृद्धि अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अनुमान गरिएको हो।
प्रारम्भिक अनुमानअनुसार विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन, व्यापार सेवा लगायतका आर्थिक गतिविधिमा आएको विस्तारले समग्र आर्थिक वृद्धिलाई टेवा दिएको छ।
तेस्रो त्रैमासमा समेटिएका १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक सबै क्षेत्रमा सकारात्मक वृद्धिदर रहने अनुमान गरिएको छ।

यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धानबाली उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादन घटेकाले आर्थिक वृद्धिदर अपेक्षाकृत मध्यम रहेको विश्लेषण गरिएको छ।
यस्तै, मौसमी प्रभाव समायोजन गरिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा आधारभूत मूल्यमा कुल गार्हस्थ्य उत्पादन ०.५८ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।
यसले अर्थतन्त्रमा क्रमिक सुधारको संकेत देखिए पनि उत्पादन र निर्माणसँग सम्बन्धित क्षेत्रको सुस्तताले समग्र वृद्धिदरमा दबाब कायम रहेको देखाएको छ।
सबैभन्दा उच्च वृद्धि विद्युत तथा ग्यास सम्बन्धी क्रियाकलापमा २४.८८ प्रतिशत रहेको छ। त्यसपछि वित्तीय तथा बिमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार ५.२५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने अनुमान गरिएको छ। धान उत्पादनमा कमी आए पनि पशुपन्छी, तरकारी, फलफूल तथा वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रको समग्र मूल्य अभिवृद्धिमा सकारात्मक योगदान दिएको उल्लेख गरिएको छ।
अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले विस्तार भएको छ। स्वदेशी उत्पादन तथा व्यापारजन्य वस्तुको आयातमा वृद्धि भएका कारण यस क्षेत्रमा सकारात्मक प्रभाव परेको प्रारम्भिक अनुमान छ।
यद्यपि सबै क्षेत्रको अवस्था समान छैन। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको मूल्य अभिवृद्धि १.५९ प्रतिशतले घट्ने अनुमान गरिएको छ भने औद्योगिक उत्पादन क्षेत्र पनि ०.५४ प्रतिशतले संकुचित हुने देखिएको छ। बाँकी औद्योगिक वर्गीकरणहरूमा भने सामान्य वृद्धि भएको प्रारम्भिक अनुमान छ।
विगत पाँच आर्थिक वर्षको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन वृद्धिदरको तुलनाले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकमा सबैभन्दा उच्च वृद्धि भएको तथा २०७९/८० को दोस्रो त्रैमासिकमा सबैभन्दा न्यून वृद्धि भएको देखाउँछ। त्यसयता भने आर्थिक वृद्धिदर सामान्य उतारचढावसहित अघि बढिरहेको छ।



