काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवासायीसँग निरन्तर भेट वार्ता गर्ने भएका छन् । सो क्रममा उनले बुधबार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीआइएन) र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सहितका प्रतिनिधिसँग छलफल भेटवार्ता गरेका थिए ।
सोही सिलसिलालाई निरन्तरता दिने क्रममा प्रधानमन्त्री शाहले आज बिहीबार नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष सहितका प्रतिनिधि सँग छलफल गर्ने भएका छन् । दुई पक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ११३० बजे भेटवार्ता तय गरिएको छ ।
भेटवार्तामा निर्माण व्यवसायीका मुद्धा तथा समस्यामा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । सचिवलायका अनुसार निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा दुई पक्षबीच छलफल हुनेछ ।
प्रधानमन्त्री र निजी क्षेत्रको भेटवार्ताको समन्वयको भूमिका भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवम उद्योगी विदुषी राणाले गरेकी हुन् । प्रधानमन्त्री शाहले उद्योगी एवम व्यवसायी भेटवार्ता गर्ने क्रममा निर्माण, सूचना प्रविधि (आईटी), पर्यटन, उर्जा, नागरिक उडड्यान,निर्यात लगायतका क्षेत्रका उद्योगी एवम व्यवसायीहरुलाई क्रमशः भेटवार्ता गर्दै जाने तयारी रहेको उद्योगी राणाले इिक्वटी नेपालसँग भनिन् ।
सोही भेटको निरन्तरता स्वरुप बिहीबार एफक्यानका प्रतिनिधि सँग छलफल हुन लागेको हो । ‘सम्भवत प्रधानमन्त्री शाहले दिनमा एउटा क्षेत्रका उद्योगी तथा व्यवसायीलाई भेट्ने योजना अघि सारेका छन् ,’ उद्योगी राणाले इक्विटी नेपालसँग भनिन्,’ विभिन्न क्षेत्रका लगानीकर्ताहरु सँग भटेर त्यसको विकास तथा अर्थतन्त्रमा योगदान दिने विषयमा छलफल गर्ने तयारी हो ।’
उनले अघि भनिन् विभिन्न क्षेत्रमा रहेका समस्याको विषयमा जानकारी लिने र समाधान गरी अघि बढ्ने तयारीमा प्रधानमन्त्री शाह एवम वर्तमान सरकार रहेको छ । बुधबार प्रधानमन्त्री र निजी क्षेत्रका प्रमुख छातासँगठन अध्यक्ष सहितका प्रतिनिधिसँगको भेटवार्तातको समन्वय पनि सांसद एवम उद्योगी राणाले गरेकी थिइन् ।
बिहीबार एफक्यानका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने छन् ।


