काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले प्रयोग गर्ने सफ्टवेयर सुत्र आजराति १२ बजेबाट बन्द हुने भएको छ ।
महालेखाले सवै मातहत निकाय र स्थानिय तहलाइ निर्देशन दिँदै बिहीबार राति १२ बजे सम्म सबै प्रकारका भुक्तानी पुरा गर्न भनेको हो ।
नेपालको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। सोही अनुसार आजरातिबाट सुत्र बन्द हुन लागेको हो ।
आजपश्चात साउन १ गते सम्म सुत्रबाट हुने भुक्तानीमा कट्टी भई दाखिला हुन बाँकी रहेका दायित्वहरू (जस्तैः अग्रिम आयकर, मू.अ. कर, पारिश्रमिक कर, क.सं. कोष, ना.ल. कोष, नागरिक लगानी कोष, जस्ता रकमहरू र कट्टी भएका धरौटी रकम) बैंकमा जम्मा गर्न पाइने । असार २५ गतेसम्म सूत्र प्रणालीबाट भएका भुक्तानी मध्ये विभिन्न कारणवश ट्रान्सफर रिजेक्ट भएकाहरूको पुनः भुक्तानी गर्न पाइने छ भने अनुदानको निकासा फिर्ताः संघीय र प्रदेश सरकारबाट प्राप्त ससर्त, समपूरक तथा विशेष अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (को.ले.नि.का.) वा प्रदेश लेखा इकाई कार्यालयहरूमा असार मसान्तसम्म निकासा फिर्ता गर्न पाइने छ ।
यसका अलवा खाता परिवर्तन र रकम ट्रान्सफरः स्थानीय तहहरूको खर्च खाता, राजस्व खाता तथा अन्य खाताहरूबाट सञ्चित कोष खातामा रकम ट्रान्सफर गर्ने, पेस्की फछ्र्यौट र समायोजनः बैंक खातामा जम्मा गरेको भौचर संलग्न राखी पेस्की फछ्र्यौट र अन्य रकम समायोजन गर्ने कार्य भने गर्न पाउने छन् । सरकारी भुक्तानीको अन्तिम दिन रहेको छ । बिहीबार राति १२ बजे पश्चात सरकारी भुक्तानी स्फ्टवेयर स्वतः आफै बन्द हुनेछ ।


