काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा देखिएका समसामयिक समस्याहरू समाधान गर्न र लगानीकर्ताको हकहित संरक्षणका लागि आगामी साताभित्र विस्तृत ‘पुँजी बजार विकास मार्गचित्र’ल्याउने भएको छ ।
बोर्डले बुधबार (असार २५ गते) एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजारमा हाल देखिएका समस्या र लगानीकर्ताका गुनासाहरूप्रति धितोपत्रबोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले बजारका समस्या समाधानका आन्तरिक तयारी गरिरहेको र आगामी सातासम्म योजनाबद्द कार्ययोजनासहितको मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने बताएको हो ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, बजारलाई थप स्वस्थ, सुरक्षित एवं प्रभावकारी बनाउन विभिन्न कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन गर्ने काम सुरु भएको बताइएको छ ।
धितोपत्र बोर्डले विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालगायतका कानुनी व्यवस्थाहरू परिमार्जन गर्न लागेको जानकारी दिएको छ ।
यसका अलावा बोर्डले धितोपत्र व्यवसायीहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायत बजार सम्बन्धी विषयमा दिइएका निर्देशनहरू कार्यान्वयन गर्न भनेको छ
धितोपत्र बोर्डले सेयर बजारमा उतारचढाव भइरहेका बेला लगानीकर्ताहरूलाई संयमित हुन र हल्लाको पछि लाग्न सार्वजनिक आव्हान गरेको छ ।
“लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्त्व दिई बोर्डले कार्य अगाडि बढाइरहेकोले कसैको पनि हल्ला, बहकाउ तथा अफवाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिई सुझबुझ पूर्वक लगानी सम्बन्धी निर्णय लिन अनुरोध गरिन्छ,” प्रवक्ता द्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।


