CLI

व्यापार घाटा न्यूनीकरण कार्ययोजना : ५ वर्षमा वस्तु तथा सेवाको निर्यात जीडीपीको २० प्रतिशत पुराउने

काठमाडौं । सरकारले नेपालको वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा आगामी पाँच वर्षमा २० प्रतिशत पुर्याउने बताएको छ ।नेपालको वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ्य उत्पादनको अनुपातमा आधार वर्ष २०७८र७९ को ६।३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पुर्याउने बताइएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना (२०७९/८ र २०८४/८५) सार्वजनिक गर्दै सो कुरा बताएको हो । नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा बढ्दो व्यापार घाटा कम गर्नु यस कार्ययोजनाको प्रमुख उद्देश्य रहेको छ। यसका अतिरिक्त तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता भएका वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्नु उद्देश्य रहेको छ ।

साथै कृषि तथा औद्योगिक वस्तुको उत्पादन तथा उपभोगमा वृद्धि गर्नु, विभिन्न निकायहरूबीच प्रभावकारी समन्वय स्थापित गरी स्वदेशी तथा वैदेशिक लगानी र उत्पादन वृद्धि गर्नु र स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्नु रहेको छ । र मानव स्वास्थ्यलाई हानि पुर्‍याउने आयातित वस्तुहरूको नियमन गर्नु रहेको छ ।

कार्ययोजनामा रहेका कार्यहरूको कार्यान्वयन प्रत्येक निकायले आफ्नो वार्षिक कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेछ। कार्ययोजना भित्रका कतिपय क्रियाकलाप नियमित बजेटबाट गर्न नसकिने भएमा वार्षिक कार्यक्रम तथा बजेटमा समेत समावेश गरी अर्थ मन्त्रालयमा पेश गर्नुपर्नेछ । अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोगले यस कार्ययोजनामा समावेश भएका क्रियाकलापहरूको कार्यान्वयनका लागि सम्बन्धित निकायबाट माग भई आएअनुसार बजेट विनियोजन गर्न प्राथमिकता दिनु पर्नेछ।

कार्ययोजनाको आवश्यकता नेपालको विद्यमान व्यापार घाटालाई कम गरी अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ लैजानु अत्यन्त आवश्यक छ। सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा विश्व व्यापार सङ्गठनबाट अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्दै आएको सहज बजार पहुँच, विशेष तथा पृथक व्यवहारलगायतका विभिन्न छुट सुविधा गुम्न जाने भएकोले निर्यात व्यापारमा असर पर्ने देखिन्छ। यस प्रकारको असरलाई न्यूनीकरण गर्न स्वदेशी वस्तुको उत्पादन क्षमतामा सुधार गर्दै प्रमुख व्यापार साझेदार मुलुक तथा
युरोपियन युनियनलगायतका क्षेत्रीय सङ्गठनसँग व्यापार तथा लगानीसम्बन्धी वार्ता तथा सम्झौता गर्नुपर्ने हुन्छ ।

साथै, स्वदेशभित्र तुलनात्मक लाभ तथा प्रतिस्पर्धात्मक क्षमताका वस्तुहरूको आन्तरिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने, कम गुणस्तर र स्वास्थ्यलाई हानी पुऱ्याउने वस्तुको आयात नियमन गर्ने, नेपाली वस्तुको गुणस्तर सुधार, ब्रान्डिङ तथा प्याकेजिङमा सुधार गर्ने, व्यापार तथा निर्यात सहजीकरण गर्ने, निर्यात प्रवर्धन गर्ने, सेवाको निर्यात व्यापारमा वृद्धि गर्नेजस्ता रणनीति अवलम्बन गरी व्यापार घाटामा न्यूनीकरण गर्नु अपरिहार्य रहेको बताइएको छ ।

व्यापारको अवस्था
आर्थिक वर्ष २०७४/७५ मा वस्तु आयात रु. १२ खर्ब ४५ अर्ब रहेकोमा पाँच वर्षपछि आर्थिक वर्ष २०७८/७९ मा यो रु. १९ खर्ब २० अर्ब पुगेको थियो। सोही वर्ष व्यापार घाटा रु. १७ खर्ब २० अर्ब पुगेको थियो।

आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ३.० प्रतिशतले घटेको थियो। कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो वर्ष २.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ४.५ प्रतिशत पुगेको छ।

कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्ष ३.३ प्रतिशतले घटेको मा आर्थिक वर्ष २०८१/८२ मा ११७.८ प्रतिशतले वृद्धि भई रु. २ खर्ब २४ अर्ब ६८ करोड पुगेको छ। वस्तुगत आधारमा भारततर्फ मुख्यतः सोयाबिन तेल, पोलिस्टरको धागो, जुटका सामान तथा चिया लगायतका वस्तुको निर्यातमा वृद्धि भएको छ।

चीनतर्फको निर्यात अघिल्लो वर्ष ४६.६ प्रतिशतले बढेको मा आर्थिक वर्ष २०८१/८२ मा १.६ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ६३ करोड पुगेको छ। चीनतर्फ मुख्यतः ऊनी गलैँचा, हस्तकलाका सामान, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ।

अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष ४.३ प्रतिशतले घटेको मा आर्थिक वर्ष २०८१/८२ मा ६.७ प्रतिशतले वृद्धि भई रु. ४९ अर्ब ७१ करोड पुगेको छ। अन्य मुलुकतर्फ मुख्यतः पश्मिना, सङ्गीत वाद्ययन्त्र तथा तिनका पार्ट्स एवं एक्सेसरिज, चाउचाउ, नेपाली कागज तथा चिया लगायतका वस्तुको निर्यात बढेको छ।

आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई रु. १८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १.२ प्रतिशतले घटेको थियो। कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष २७.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २९.५ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ मा भारतबाट भएको वस्तु आयात ७.५ प्रतिशतले वृद्धि भई रु. १० खर्ब ७१ अर्ब २० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात ३.० प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०८१/८२ मा भारतबाट सवारीसाधन तथा स्पेयर पार्ट्स, स्पन्ज आइरन, अन्य मेसिनरी तथा पार्ट्स, धान तथा चामल, औषधि लगायतका वस्तुको आयात बढेको छ।

Leave Your Comment

Related News