काठमाडौं । अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
यसैबीच, लगातारको वर्षाका कारण देशका विभिन्न सडकखण्ड पहिरो र हिलाम्मेका कारण अवरुद्ध भएका छन्। इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, पाँचथरको राँके–रवि–भेडेटार सडक, गोरखाको आरुघाट–माछिखोला सडक तथा ललितपुरस्थित कान्तिलोकपथका केही खण्डमा पहिरोका कारण आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ।


