काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
केन्द्रीय तहमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य भएसँगै प्रदेश सरकारको नयाँ सत्ता समीकरणका लागि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडाले मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जानकारी दिए।
राजीनामा दिने मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका छन्।
एमाले सरकारबाट बाहिरिएसँगै बागमती प्रदेशको सत्ता समीकरण परिवर्तन हुने भएको छ।



