काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवै वृद्धि भए पनि आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा बढेको देखाउँछ ।
कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढेको छ । २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा देशको व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो ।
गत आवमा कुल २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको आयात भएको थियो। यो आघिल्लो आवको आयातको तुलनाम १६.२० प्रतिशतले बढी हो । अघिल्लो आवमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालको निर्यातमा पनि १३.८१ प्रतिशतको सुधार आएको छ। गत वर्ष नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ थियो।
आर्थिक वर्ष २०८१\८२मा आयात–निर्यात अनुपात पनि बढेको छ। अघिल्लो वर्ष ६.५१ रहेको आयात–निर्यात अनुपात गत वर्षमा बढेर ६.६५ पुगेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशतमा पुगेको छ भने आयातको हिस्सा ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ।


