काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढी तथा पहिरोपछि ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा रोक लगाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंबाट ती राजमार्ग हुँदै जाने सार्वजनिक सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो।
उनका अनुसार पृथ्वी राजमार्ग हुँदै चितवन, पोखरालगायत पश्चिमतर्फ जाने तथा गोरखा, लमजुङ र धादिङ जाने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, पासाङल्हामु राजमार्ग हुँदै नुवाकोट र रसुवातर्फ जाने सवारीसाधनलाई समेत काठमाडौंमै रोकिएको सुवेदीले जानकारी दिए।
भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण नदी आसपासका क्षेत्रमा जोखिम बढेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै तत्कालका लागि आवागमन रोकिएको प्रहरीले जनाएको छ।
बाढीपहिरोको अवस्था र सडकको जोखिमबारे थप जानकारी आएपछि मात्रै सवारीसाधन सञ्चालनबारे निर्णय गरिने प्रहरीले जनाएको छ।



