दुबई। क्षेत्रीय तनाव चर्किंदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन् । अमेरिकी दबाब र युद्धविरामको अनिश्चित अवस्थाबीच आएको यो अभिव्यक्तिलाई इरानले आफ्नो रणनीतिक अडान अझ कडा बनाएको सङ्केतका रूपमा हेरिएको छ ।
राज्य टेलिभिजनमार्फत सार्वजनिक गरिएको वक्तव्यमा अयातुल्ला मोजताबा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक, प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोडिएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गरे । उनले पर्सियन खाडी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई ‘इतिहासको नयाँ अध्याय’ का रूपमा व्याख्या गरे । आफ्नो बुबाको हवाई आक्रमणमा मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हालेका खमेनी हालसम्म सार्वजनिक रूपमा देखा परेको छैन ।
देशको अर्थतन्त्र अमेरिकी नाकाबन्दीका कारण दबाबमा परेको बेला इरानको यस्तो अडान आएको हो । अमेरिकी नौसेनाले इरानी तेल ट्याङ्करहरूको आवागमन रोकेपछि निर्यात प्रभावित भएको छ भने विश्व बजारमा तेल आपूर्ति अस्थिर बनेको छ । हर्मुज जलघाँटीमा इरानको प्रभावका कारण विश्वको झण्डै पाँचौँ हिस्सा कच्चा तेल ढुवानी प्रभावित भइरहेको छ । यसै सन्दर्भमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको छ ।
ऊर्जा आपूर्तिमा आएको दबाबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि राजनीतिक तथा आर्थिक दबाब बढाएको छ । उनले खाडी क्षेत्रमार्फत तेल ढुवानी पुनः सुरु गराउन नयाँ योजना अघि सारेको बताइएको छ । प्रस्तावित योजनाअनुसार अमेरिका इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी राख्दै सहयोगी राष्ट्रहरूसँग मिलेर इरानको हस्तक्षेपलाई महँगो बनाउने रणनीतिमा अघि बढ्ने तयारीमा रहेको छ ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना कूटनीतिज्ञहरूलाई ‘समुद्री स्वतन्त्रता’ कायम गर्ने पहलमा सहयोग जुटाउन निर्देशन दिएको छ । उक्त पहलले हर्मुज जलघाँटीमा निर्बाध आवागमन सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ । अमेरिकी पक्षले यसलाई अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाका लागि आवश्यक रक्षात्मक कदमको रूपमा व्याख्या गरेको छ ।
अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले युरोपमा अमेरिकी सैन्य उपस्थिति पुनरावलोकन गर्ने सङ्केत पनि दिएको छ । जर्मनीपछि इटाली र स्पेनबाट समेत सेना फिर्ता लिन सकिने उहाँको भनाइले सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा नयाँ बहस सुरु गरेको छ ।
अमेरिकी नाकाबन्दीका कारण हालसम्म दर्जनौँ व्यापारिक जहाजहरू प्रभावित भएका छन् । यसले इरानलाई तेल निर्यातबाट वञ्चित गर्दै आर्थिक दबाब थप बढाएको छ । यद्यपि, इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी दोहोर्याउँदै आएको छ, जबकि उसले उच्च स्तरमा युरेनियम समृद्धि गरिरहेको पुष्टि भइसकेको छ ।
तनाव कम गर्न पाकिस्तानले अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ताको सहजीकरण गरिरहेको जनाएको छ । प्रत्यक्ष संवाद भएमा समस्या समाधान सहज हुन सक्ने इस्लामाबादको धारणा छ, यद्यपि कुनै ठोस प्रगति सार्वजनिक गरिएको छैन ।
खमेनीको पछिल्लो अभिव्यक्तिले हर्मुज जलघाँटीमा इरानले आफ्नो नियन्त्रण कायम राख्ने सङ्केत पनि दिएको छ । केही जहाजहरूबाट शुल्क असुल्ने अभ्यासलाई इरानले वैध व्यवस्थापनका रूपमा प्रस्तुत गरेको छ, तर अन्तर्राष्ट्रिय समुदायले यसलाई स्वीकार गरेको छैन । खाडीका अरबी राष्ट्रहरूले यस्तो कदमको कडा आलोचना गर्दै समुद्री डकैतीसँग तुलना गरेका छन् ।
देशभित्र पनि तनाव बढिरहेको छ । इरानले हालै विरोध प्रदर्शनसँग सम्बन्धित आरोपमा एक युवकलाई मृत्युदण्ड दिएको पुष्टि गरेको छ । मानव अधिकार समूहहरूले युद्धपछिको अवस्थामा दमन बढेको र मृत्युदण्डको सङ्ख्या उकालो लागेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएयता कम्तीमा २१ जनालाई मृत्युदण्ड दिइएको छ ।
क्षेत्रीय रूपमा पनि अस्थिरता कायम छ । लेबनानको दक्षिणी क्षेत्रमा इजरायल र हिजबुल्लाहबीच झडप जारी रहेको छ । युद्धविरामका बाबजुद आक्रमणहरू भइरहेका छन्, जसमा दुवै पक्षले क्षति व्यहोरेका छन् । इजरायलले आफ्ना सैनिक गुमाएको जनाएको छ भने लेबनानमा नागरिक हताहत भएको रिपोर्ट सार्वजनिक भएको छ ।
यसैबीच, संयुक्त अरब इमिरेट्सले इरान, लेबनान र इराकमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन र आवश्यक परे फर्किन आह्वान गर्दै यात्रा प्रतिबन्धसम्बन्धी निर्णय सार्वजनिक गरेको छ । समग्र अवस्थाले मध्यपूर्व क्षेत्रमा तनाव कम हुनेभन्दा थप जटिल बन्दै गएको सङ्केत गरेको छ ।


