काठमाडौं । भारतमा “ककरोच जनता पार्टी” नामक व्यंग्यात्मक राजनीतिक आन्दोलन यतिबेला सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म चर्चाको विषय बनेको छ । भारतका प्रधानन्यायाधीश सूर्य कांतले बेरोजगार युवाहरुलाई “ककरोच” सँग तुलना गरेपछि सुरु भएको आक्रोश अहिले लाखौँ युवाको डिजिटल आन्दोलनमा बदलिएको हो ।
मे १५ मा सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा प्रधानन्यायाधीश कांतले “रोजगारी नपाएका केही युवाहरु सामाजिक सञ्जाल, मिडियामार्फत सबैलाई आक्रमण गरिरहेका छन्” भन्दै उनीहरुलाई “ककरोच” जस्ता शब्द प्रयोग गरेका थिए। उनले परजीवी भन्ने शब्द पनि प्रयोग गरेका थिए । उक्त अभिव्यक्ति सार्वजनिक भएपछि भारतभरका युवाहरुले सामाजिक सञ्जालमा तीव्र आलोचना गरेका थिए ।
यद्यपि पछि प्रधानन्यायाधीश कांतले आफ्नो भनाइ युवाविरोधी नभएको स्पष्ट पार्दै टिप्पणी नक्कली डिग्री प्रयोग गर्ने व्यक्तिहरुतर्फ लक्षित रहेको बताएका थिए । तर त्यो समयसम्म विवादले ठूलो रुप लिइसकेको थियो।
यसैबीच अमेरिकाको बोस्टन युनिभर्सिटीमा अध्ययनरत ३० वर्षीय भारतीय विद्यार्थी अभिजीत दिप्केले एक्स (ट्विटर) मा “यदि सबै ककरोचहरु एकजुट भए भने?” भन्ने पोस्ट गरे। यही पोस्टबाट ‘ककरोच जनता पार्टी’ को सुरुवात भएको हो।
दिप्केले केही घण्टामै वेबसाइट, इन्स्टाग्राम पेज, एक्स अकाउन्ट र सदस्यता फारम तयार गरेका थिए। कृत्रिम बौद्धिकता (AI) उपकरण जस्तै OpenAI को ChatGPT तथा Claude प्रयोग गरेर पार्टीको लोगो, घोषणापत्र र डिजिटल अभियान निर्माण गरिएको थियो।
आन्दोलन सुरु भएको ७२ घण्टाभित्रै यसले अभूतपूर्व समर्थन पाएको थियो। तीन लाख ५० हजारभन्दा बढी सदस्यता आवेदन परेका थिए भने इन्स्टाग्राममा ३० लाखभन्दा बढी फलोअर पुगेका थिए । “मे भि ककरोज हुँ ” अर्थात् “म पनि ककरोच हुँ” अभियान सामाजिक सञ्जालभर भाइरल बनेको थियो । भारतभरका जेनजी युवाहरु आन्दोलनसँग जोडिन थालेका थिए भने ककरोचको इमोजी आन्दोलनको प्रतीक बनेको थियो ।
आन्दोलनका समर्थकहरु भन्छन्, “हामीलाई सत्ताले ककरोच भन्यो, अब त्यही शब्दलाई हामी प्रतिरोधको प्रतीक बनाउँछौँ।” उनीहरुका अनुसार ककरोच यस्तो जीव हो जसले कठिन परिस्थितिमा पनि बाँच्न सक्छ। यही प्रतीक प्रयोग गर्दै युवाहरुले आफूहरुलाई बेरोजगार, अल्छी र सधैँ अनलाइन बस्ने पुस्ता भनेर आलोचना गरिए पनि अझै संघर्ष गरिरहेको सन्देश दिएका छन् । यसरी अपमानलाई आन्दोलनमा बदलिएको छ।
‘ककरोच जनता पार्टी’ ले आफूलाई “युवाहरुको लागि, युवाहरुद्वारा, युवाहरुकै आन्दोलन” भनेर चिनाएको छ। पार्टीको व्यंग्यात्मक नारा “Secular, Socialist, Democratic and Lazy” रहेको छ, जुन भारतको संविधानको प्रस्तावनामाथिको व्यंग्यात्मक रुपान्तरण मानिएको छ।
पार्टीमा सदस्य बन्नका लागि बनाइएका योग्यता पनि चर्चा बनेका छन्। पार्टीले बेरोजगार, अल्छी, सधैँ अनलाइन बस्ने तथा “प्रोफेशनल रुपमा गुनासो गर्न सक्ने” व्यक्तिलाई सदस्य बन्न योग्य बताएको छ। यद्यपि यो व्यंग्यात्मक प्रस्तुति भए पनि आन्दोलनले उठाएका मुद्दाहरु भने गम्भीर रहेका छन्।
पार्टीको घोषणापत्रमा पाँच प्रमुख माग राखिएका छन्। जसमा प्रधानन्यायाधीशले अवकाशपछि राजनीतिक नियुक्ति नपाउनुपर्ने, मतदाता सूचीबाट वैध मत हटाउनेमाथि कारबाही हुनुपर्ने, संसदमा महिलाको ५५ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने, पार्टी परिवर्तन गर्ने सांसदलाई २० वर्ष राजनीतिबाट प्रतिबन्ध लगाउनुपर्ने तथा सरकार समर्थक भनिएका ‘गोदी मिडिया’माथि निगरानी बढाउनुपर्ने माग समावेश छन्।
विश्लेषकहरुका अनुसार भारत अहिले गम्भीर युवा संकटबाट गुज्रिरहेको छ। भारतमा हरेक वर्ष ८० लाखभन्दा बढी विद्यार्थी स्नातक बन्छन्, तर स्नातक युवाहरुको बेरोजगारी दर करिब २९ प्रतिशत रहेको बताइन्छ। सरकारी परीक्षामा प्रश्नपत्र चुहावट, बढ्दो महँगी तथा सीमित अवसरका कारण युवाहरु प्रणालीबाट निराश बनेको विश्लेषण गरिएको छ।
यस आन्दोलनमा विपक्षी सांसद महुआ मोइत्रा र कीर्ति आजादले समेत सार्वजनिक समर्थन जनाएका छन्। यसले आन्दोलनलाई सामाजिक सञ्जालको ट्रेन्डभन्दा बाहिर ल्याएर राष्ट्रिय राजनीतिक बहसको विषय बनाएको छ।
हाल ‘ककरोच जनता पार्टी’ भारतको निर्वाचन आयोगमा दर्ता भएको औपचारिक राजनीतिक दल भने होइन। यो एउटा व्यंग्यात्मक डिजिटल आन्दोलनका रुपमा अगाडि बढिरहेको छ। तर यसले एउटा गम्भीर प्रश्न उठाएको छ — “जब शिक्षित, बेरोजगार र निराश युवाहरुलाई सत्ताले समस्या सम्झिन थाल्छ, तब उनीहरु प्रतिरोधमा बदलिन सक्छन्।”
विश्लेषकहरुका अनुसार यो आन्दोलन केवल मजाक होइन। यसले जेनजी पुस्ता राजनीतिक रुपमा सचेत रहेको, डिजिटल रुपमा संगठित हुन सक्ने र व्यंग्यलाई समेत शक्तिशाली राजनीतिक हतियार बनाउन सक्ने देखाएको छ ।
दक्षिण एसियामा पछिल्ला वर्षहरुमा बंगलादेश, श्रीलंका र नेपालमा युवाहरुको आन्दोलनले सरकार परिवर्तनसम्म गराएको उदाहरण रहेको छ। त्यसैले भारतमा पनि यो आन्दोलन केवल इन्टरनेट ट्रेन्डमै सीमित रहन्छ वा वास्तविक राजनीतिक शक्तिमा बदलिन्छ भन्ने प्रश्न उठ्न थालेको छ ।
व्यंग्यबाट सुरु भएको ‘ककरोच जनता पार्टी’ अहिले भारतको डिजिटल राजनीतिक इतिहासकै सबैभन्दा तीव्र रुपमा फैलिएको युवा आन्दोलनमध्ये एक बनेको छ।


