काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ भने गत आर्थिक वर्ष २०८१/८२ मा यो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो।
सोही अवधिमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ। बागमती प्रदेशको मात्र कुरा गर्दा, यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ जहाँ कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.२३ प्रतिशत, १२.२४ प्रतिशत र ७६.५३ प्रतिशत रहनेछ।
बागमती प्रदेशको कृषि क्षेत्रतर्फ, यस वर्ष खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र १.४ प्रतिशतले र कुल बाली उत्पादन ७.८ प्रतिशतले घटेको छ भने धान, मकै, गहुँ, कोदो, जौ, फापर र तरकारी तथा बागवानीको उत्पादनमा सामान्य वृद्धि भएको छ। पशुजन्य उत्पादनतर्फ दूध र मासु उत्पादन बढेको तर अण्डा उत्पादन ८.३ प्रतिशतले घटेको छ भने यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूबाट ३.३ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ।
उद्योग तथा सेवा क्षेत्रतर्फ, अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४१.०८ प्रतिशत रहेको छ भने बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित औद्योगिक कर्जा ३६.८१ प्रतिशत छ। नमुनामा परेका होटलहरूको औसत अकुपेन्सी ४७.९ प्रतिशत रहेको र २०८२ कात्तिकदेखि यसमा सुधार आएको देखिन्छ। यस अवधिमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ९.६ प्रतिशतले बढेको, रजिष्ट्रेशन राजस्व १६.८ प्रतिशतले घटेको, बैंक निक्षेप ९.७९ प्रतिशतले र कर्जा प्रवाह ९.०७ प्रतिशतले बढेको तथा यातायात सवारीसाधन दर्ता २० प्रतिशतले वृद्धि भएको छ।
पूर्वाधार र रोजगारीको क्षेत्रमा, बागमती प्रदेशमा ४९.५८ कि.मि. नयाँ सडक निर्माण, १४३.६९ कि.मि. ग्राभेल र ११७.९२ कि.मि. कालोपत्रे सडक स्तरोन्नति हुनुका साथै ४४ वटा सडक पुल र ६ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। यस प्रदेशबाट १ लाख २९ हजार ६५१ जना वैदेशिक रोजगारीमा गएका छन् भने रोजगार प्रवर्द्धन कार्यक्रममार्फत ४ हजार ३४८ जनाले रोजगारी प्राप्त गरेका छन्। प्रादेशिक वित्तगत स्थितितर्फ, आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकारले ६७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा ६८.१८ प्रतिशत अर्थात् ४६ अर्ब रुपैयाँ खर्च भएको छ भने ३० अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ




