Global College

एक्सेल डेभलपमेन्ट बैंक नोक्सानीबाट नाफामा, पहिलो त्रैमासमा ४० लाख रुपैयाँ खुद नाफा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नोक्सानीबाट नाफामा फर्किएको छ । बैंकले असोज मसान्तसम्म ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा बैंक ८ करोड ९७ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १५ करोड २८ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ करोड ३३ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १५ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक ८ करोड ९७ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको थियो ।

यस्तै, बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.८५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६८ प्रतिशत रहेको थियो । बैंकको निष्क्रिय कर्जाका लागि कुल कर्जा नोक्सानी व्यवस्था अनुपात १०७.०२ प्रतिशत पुगेको छ ।
बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड ९४ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको जगेडा तथा कोषमा ८० करोड १ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले १८ अर्ब १६ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ५४ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप १८ अर्ब ५८ करोड २२ लाख रुपैयाँ र कर्जा प्रवाह १३ अर्ब १८ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक १ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ६३ पैसा रहेको छ । त्यस्तै, बैंकको आधार दर ५.०६ प्रतिशत र कोषको लागत २.७६ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा आधार दर ६.२७ प्रतिशत र कोषको लागत ३.७२ प्रतिशत रहेको थियो ।

वित्तीय विवरणअनुसार बैंकको पुँजी तथा कर्जा गुणस्तरका सूचकमा समेत सुधार देखिएको छ । विशेषगरी खराब कर्जा अनुपात घट्नु, खुद ब्याज आम्दानी बढ्नु र सञ्चालन नोक्सानीबाट नाफामा फर्किनुले बैंकको वित्तीय अवस्थामा सुधार आएको देखाउँछ ।

NECO

Leave Your Comment

Related News