CLI

दक्षिण कोरिया जाने ईपीएस श्रमिकको भिसा शुल्क बढ्यो, अब ११ हजार ३०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं । ईपीएस (रोजगार अनुमति प्रणाली) मार्फत दक्षिण कोरिया जाने श्रमिकका लागि भिसा शुल्क वृद्धि गरिएको छ।

ईपीएस कोरिया शाखाका अनुसार नेपालस्थित कोरियन दूतावासले भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरेपछि अबदेखि सीसीभीआई (CCVI) फाराम बुझाउने श्रमिकले ११ हजार ३०० रुपैयाँ भिसा शुल्क तिर्नुपर्ने भएको हो। यसअघि उक्त शुल्क १० हजार ७०० रुपैयाँ थियो।

कोरियन दूतावासको २०८३ असार १७ गते (जुलाई १, २०२६) प्राप्त पत्रअनुसार नयाँ शुल्क लागू गरिएको शाखाले जनाएको छ।

शाखाले सीसीभीआई प्राप्त गरेका श्रमिकलाई कार्यालयमा स्वयं उपस्थित भई सीसीभीआई फाराम बुझाउन आग्रह गरेको छ। साथै, भिसा शुल्कबापतको ११ हजार ३०० रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालय (को.ले.नि.का.) ललितपुरको नाममा नेपाल बैंक लिमिटेड, गाबाहल शाखास्थित खाता नम्बर ०१८०१०००००२००६०००००१ मा जम्मा गरी सक्कल भौचर सीसीभीआई फारामसँगै पेश गर्नुपर्ने जनाएको छ।

ईपीएस कोरिया शाखाले एउटै व्यक्तिको नाममा कुनै कारणवश दोहोरो भुक्तानी भएमा उक्त रकम फिर्ता नहुने भएकाले शुल्क जम्मा गर्दा विशेष सावधानी अपनाउन पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

Leave Your Comment

Related News