काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन उद्योगी, व्यवसायी तथा निजी विद्यालयका छाता सङ्गठनहरूलाई निर्देशन दिएको छ।
विभागले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई), नेपाल उद्योग परिसङ्घ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सलाई असोज २३ गते पत्र पठाउँदै आफ्ना आबद्ध प्रतिष्ठानमा कार्यरत श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको हो।
श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले वर्षमा एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउने व्यवस्था छ। उक्त रकम श्रमिकले प्रचलित धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान छ।
यसैगरी, विभागले असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई पनि पत्र पठाएको छ। विभागले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको हो।
विभागले सम्बन्धित सङ्गठनहरूलाई आफ्ना आबद्ध प्रतिष्ठान तथा विद्यालयलाई कानुनी व्यवस्थाबारे जानकारी गराउँदै श्रमिक, शिक्षक र कर्मचारीले पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध गराउन सहजीकरण गर्न भनेको छ।




