RE
Global College

मध्य कालीगण्डकीमा बाढीको क्षति,जलविद्युत र पूर्वाधार पुनरुत्थानमा उद्योगी ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा हालै आएको भीषण बाढीका कारण म्याग्दी र वरपरका क्षेत्रमा ठूलो भौतिक क्षति पुगे पनि सामूहिक संकल्प र सहकार्यबाट संकट पार लगाउन सकिने विश्वास व्यक्त गरेका छन्।

आइएमई समूहको लगानीमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ‘मध्य कालीगण्डकी जलविद्युत आयोजना’को स्थलगत भ्रमण तथा अवलोकन गरी फर्किएका ढकालले बाढीले पुर्‍याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्दा मन निकै भावुक र स्तब्ध बनेको बताएका छन्।

कालीगण्डकीको बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पारेको असर हृदयविदारक रहेको उल्लेख गर्दै उनले प्रकृतिको विशाल रूपअगाडि मानिस कति निरीह छ भन्ने बोध गराएको बताएका छन्। तर, यति ठूलो विपत्तिको बीचमा पनि अवरुद्ध सडक तथा भत्किएका पुल र संरचनाहरूको पुनर्निर्माण र मर्मत कार्य द्रुत गतिमा अघि बढिरहेको देख्दा आशा र ढाढस मिलेको उनको भनाइ छ।

अहोरात्र खटिएर गरिएको अथक प्रयासकै फलस्वरूप अवरुद्ध बनेको बेनी–जोमसोम सडक खण्ड पुनः सञ्चालनमा आउनु निकै सुखद् र सकारात्मक पक्ष भएको ढकालले उल्लेख गरेका छन्। सडक सञ्चालनसँगै स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीका लागि ठूलो राहत पुगेको र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीका साथै जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक तथा सर्वसाधारणका लागि आवागमन सहज भएको छ।

ढकालले विपद् व्यवस्थापन, सडक पुनर्स्थापना र राहत कार्यमा देखाएको सक्रियताका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार तथा स्थानीय तहप्रति हार्दिक आभार व्यक्त गरेका छन्। विशेष गरी दिनरात नभनी फिल्डमा खटिएर सडक पुनः सञ्चालन गर्न सफल भएका सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक, कर्मचारी तथा सुरक्षा निकायका सम्पूर्ण सदस्यहरूको समर्पण र उच्च मनोबलको उनले उच्च कदर गरेका छन्।

बाढी-पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ढकालले प्रभावित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति समवेदना प्रकट गरेका छन्। भौतिक क्षति ठूलो भए पनि सामूहिक संकल्प र आत्मबल त्योभन्दा बलियो रहेकाले सबैको साथ, समन्वय र सहकार्यबाट छिट्टै अझ सबल रूपमा पुनरुत्थान हुनेमा उनले पूर्ण विश्वास व्यक्त गरेका छन्।

NECO

Leave Your Comment

Related News